वामदेव गौतमले भने - जित सुनिश्चितताका लागि माओवादीको चुनाव चिह्न रोजेँ

राष्ट्रियसभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताएका छन् । 

मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताएका हुन् । उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए । 

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताए । उनले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए । 

हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसावले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे । उनले इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे । 

निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबैकुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक सार्वजनिक कार्यक्रममा नेता गौतमले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि पार्टीले नै निर्वाचन पराजित गर्न लागिपरेको बताएका थिए । 

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताए । 



मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नेता गौतम र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेतालाई आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा सहभागी हुन पार्टीको चुनाव चिह्न दिने सहमति गरेको थियो । 



  • प्रकाशित मिति : साउन ३१, २०७९ मंगलबार १६:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया