कैलाली-५ बाट पुस्करनाथ ओझा स्वतन्त्रबाट उठ्ने भएपछि फकाउँदै कांग्रेस

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट पुस्करनाथ ओझाले चुनावी लड्ने भएपछि कांग्रेसले फकाउन सुरु गरेको छ । कांग्रेस नेतृ आर्जु राणा देउवालाई हराउन मुख्य चुनौतीका रूपमा रहेका पुष्करनाथ ओझा स्वतन्त्र उठ्ने आन्तरिक तयारी गरिरहेका वेला फकाउन सुरु गरेको हो ।

ओझालाई फकाउन कैलाली कांग्रेस सभापति नारायणदत्त भट्ट र धनगढीका पूर्वमेयर नृपबहादुर वडलगायतका नेताहरूलाई भेट्न बुधबार बिहान ओझाको निवासमै पुगे । भेटमा उनले कैलाली–५ मा कांग्रेसबाट चुनाव लड्न चाहेको बताएका छन् । 

‘अहिले मेरो ध्यान चुनावमा केन्द्रित छ । नेपाली कांग्रेस पार्टी मेरो घर हो, म आफ्नो घरबाटै अगामी चुनाव लड्न चाहन्छु’ ओझाको भनाइ उदृत गर्दै कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले भने, ‘कैलाली क्षेत्र नम्बर ५ पनि मेरो घर भएकाले यहीबाट चुनाव लड्छु ।’

आरजुको दाबीतर्फ संकेत गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी एउटै चुनाव लड्ने प्रचलन नरहेको प्रतिक्रिया दिएका छन् । तर, आरजुबारे कुनै टिप्पणी गरेनन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले बोलाए जुनसुकै बेला पनि भेट्न तयार रहेको बताएको कांग्रेस सचिव सुनारले जानकारी दिए ।

०७४ को निर्वाचनमा टिकट नपाएपछि कांग्रेसका उम्मेदवार राणालाई असहयोग गरेका ओझाले आफूले कैलाली क्षेत्र नम्बर ५ बाटै आगामी चुनाव लड्ने अडान लिँदै आएका छन् । उनी सभापति देउवालाई भेट्न इच्छुक भएपछि आफूले भेट्ने वातावरण तयार गर्ने कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बताए । 

भेटमा भट्ट, वड र सुनारसहित प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलगायतका नेताहरू थिए । ०७४ आफूले टिकट नपाएपछि आरजुलाई ओझाले सहयोग गरेनन् । उनकै असहयोगका कारण आरजु नेकपा एमालेका नारदुमनि रानासँग पराजित भएकी कांग्रेसको आरोप छ ।  



कांग्रेसले आरजुलाई हराउन भूमिका खेलेको भन्दै ओझालाई पार्टीबाट निस्कासन गरेको थियो । अहिलेसम्म उनीमाथिको कारबाही फुकुवा भएको छैन । कांग्रेसले कारबाही गरे पनि कैलालीको राजनीतिमा उनको व्यक्तिगत प्रभाव अझै कायमै छ । स्थानीय चुनाव २०७९ मा पनि कांग्रेसले ओझाको समर्थन खोजेको थियो । तर, स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सघाएका उनले धनगढी आएका कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेट्न मानेनन् ।

सत्तारुढ गठबन्धनको समर्थनका बाबजुद कांग्रेस उम्मेदवार नृप वड गोपाल हमालसँग पराजित भए । आसन्न मंसिर ४ को चुनावमा पनि ओझाको समर्थन नहुने हो भने कांग्रेसलाई कैलाली ५ मा सहज देखिँदैन ।



०७४ को निर्वाचनमा परिणामस्वरूप अघिल्लो निर्वाचनमा राणा तत्कालीन बाम गठबन्धनका उम्मेदवार रानासँग ४ हजार आठ सय ८० मत अन्तरले पराजित भएकी थिइन् । विजयी रानाले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार तीन सय २२ मत मात्र प्राप्त गरेकी थिइन् । यसपटक भने निर्वाचनमा कांग्रेस माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनावमा होमिने भएको छ । 

स्थानीय निर्वाचनमा पनि यस क्षेत्रमा कांग्रेसको पकड बलियो देखिएकाले राणाले पुनः यसै क्षेत्रबाट उठ्ने तयारी गरिरहेकी छन् । उनले पनि यसअघि सार्वजनिक कार्यक्रममा ‘पार्टीले उपर्युक्त ठानेमा आफू यसै क्षेत्रबाट उठ्ने’ घोषणा गरिसकेकी छन् । 

आर्जुले नै यस क्षेत्रबाट चुनाव लड्ने आन्तरिक तयारी गरिरहेकाले ओझाले यहाँ टिकट पाउन अझै मुस्किल छ । त्यसमाथि उनीमाथिको कारबाही फुकुवामा पनि केन्द्रीय कमिटीले कुनै चासो देखाएको छैन । सोही कारण यस क्षेत्रबाट ओझाले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना बलियो देखिएको छ । 

  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १४:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया