रौतहटमा धामीझाँक्रीको दसैंमा ब्रह्मलुट, स्थानीय प्रशासन मौन रहेको आरोप

रौतहटमा धामीझाँक्रीहरुले प्रसाद र भाकल बापत बोका चढाउने नाउँमा ब्रह्मलुट मच्चाएका छन् । भाकल दिने नाउँमा करोडौँको बोकाको बलि र बलि दिएको बापत धामीझाँक्रीहरुले बलि चढाउन आउने सँग लाखौँ रुपैयाँ असुल गरिरहेका छन् । गाउँका कतिपय अगुवाहरू त्यस्ता धामी झाँक्रीको संरक्षण गर्ने गरेका छन् ।

कटहरिया नगरपालिका ५ का झाँक्री स्थानीय भाषामा भाग्ता सिकिन्दर यादवले तन्त्र मन्त्र गर्ने स्थान स्थानीय भाषा टेकामा अहिले टाढा टाढा बाट मानिसहरूले १५० भन्दा बढी बोका थुपारेका छन् । बोका ल्याउने कारणी अर्थात् पीडितले भाग्ताको लागि धोती, कुर्ता, गन्जी, गम्छा र उनको श्रीमतीको लागि साडी लगायतका कपडाका साथै भग्ताले भने अनुसारको खाद्यान्न लिएर गएका छन् । आज नवमिका दिन दिउँसो ४ बजे देखि उक्त बोकाहरुको बलि दिइने बताइएको छ । बलिदिए बापत कारणिले भग्तालाई दुई हजार रुपैयाँ दिनुपर्ने व्यवस्था रहेको छ।

भाग्ता सिकिन्दर यादवले आफू वर्षभरि कार्णिको सेवा बापत उक्त रकम लिने गरेको बताए । आफूले पूजा गर्ने कुल देउताले सबैको कल्याण भएर चढावा र बलिदिन बोका ल्याएको भाग्ता यादवको दाबी छ। उनी जस्तै कटहरिया ७ पिप्रापोखरियाका भाग्ता रामनारायण यादवले गाउँ छेउमै लगाएको टेकामा अहिले २५० भन्दा बढी बोका जम्मा भएको छ । 

भाग्ताले एउटा बोका बलिदिएको बापत २५ सय रुपैयाँ असुली रहेका छन् । बलि बापत भाग्ताले लिने पैसा लाई स्थानीय भाषामा चिराकी भन्ने गरेको बताइन्छ। रौतहटमा यो दुई स्थानमा मात्र नभै बडा दसैंमा भाग्ताहरुले दर्जनौँ स्थानमा टेका लगाएर तन्त्र मन्त्र झारफुक गर्नुका साथै बलि,पूजा र चढावनाको नाउँमा करोडौँ रुपैयाँ असुली रहेका छन् । 

यसरी ठगी आएको रकम कतिपय भाग्ताले नजिकका प्रहरी तथा गाउँका केही अगुवालाई समेत दिने गरेको दाबी गरेका छन् । भाग्ताहरुको टेकामा अन्धबिश्वासमा परेर बलिदिने चढावा दिनेमा दलित,गरिब,अशिक्षितको संख्या अधिकांश रहने गरेको कटहरियाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवले बताएका छन् । समाजसेवी गणेश साह कलवारले जिल्लामा दुई दर्जन बढी भाग्ताहरु झारफुकको नाउँमा सोझासाझा जनता सँग करोडौँ रुपैयाँ अवैध असुली गर्ने गरेको बताए ।

कटहरिया ५ मा एक जना भाग्ताले यसरि नै ठगी गरिरहँदा तत्कालीन इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई कृष्णप्यारा खरेलले भग्तालाई पक्राउ गरि कानुन कारबाहीको दायरामा ल्याए पछि झन्डै एक दशक देखि बन्द रहेको झारफुक पुनः तिन चार वर्ष देखि सुरु भएको समाजसेवी कलवारले बताए ।



यसरी झारफुक,तन्त्र मन्त्रको नाउँमा विपन्न,गरिब,दलित,अशिक्षितलाई करोडौँ ठगी गर्ने भाग्तालाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म समाजमा यस्तो विकृति कायम रहने प्रायः निश्चित रहेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी वीर बहादुर ठाडा मगरले यस्तो विकृति रोक्न तत्काल पहल गर्ने बताए ।



  • प्रकाशित मिति : असोज १८, २०७९ मंगलबार १९:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया