सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहीबार धनगढी जाँदै

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार धनगढी जाने भएका छन् । मंसिर–४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी भएपछि देउवा पहिलोपटक धनगढी जान लागेका हुन् ।

धनगढीमा प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औं संस्करण उद्घाटन गर्ने कार्यतालिका रहेको छ । 

धनगढी–१ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यतालिका रहेको छ । कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । 

जसको प्राथमिकतामा धनगढीमा स्तरीय प्रदर्शनीस्थल निर्माण गरिनुपर्ने माग छ । त्यसबाहेक सुदूरपश्चिममा औद्योगिक स्थल निर्माण गरिनु पर्ने भारतसँग जोडिएको गौरिफण्टा नाकाको स्तर उन्नति गरिनु पर्ने, धनगढी विमानस्थलको स्तर उन्नति गरिनुपर्ने लगायत माग छन् ।

१६औं संस्करणमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा ४ सय स्टल राखिएका छन् । महोत्सव तयारीमा दुई करोड खर्च लाग्ने अनुमान गरेको उद्योग वाणिज्य संघले महोत्सव अवधिभर ५ देखि ७ करोडको कारोबार हुने अनुमान गरेको छ ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचय पत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ, भने अन्यलाई एक सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।
 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १९:४०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया