... त्यसपछि प्रचण्ड मोडिए बालकोट

राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा (२) बमोजिम नयाँ सरकारका लागि गठन गर्न दिएको समयको म्याद सकिन केही घन्टा बाँकी थियो ।

शनिबार साँझ अबेरसम्म बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन । आइतबार विहान ९ बजे बस्नेगरि नेताहरु बालुवाटारबाट निस्किएका थिए ।

आइतबार बस्ने बैठकमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकार कसरी बनाउने र यसको नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको थियो ।

यतिबेलासम्म नेपाली कांग्रेसका अधिकांश नेताहरु यो गठबन्धन रहिरहने विषयमा स्पष्ट थिए । 

यही समयमा बालुवाटारमा वार्ता बसिरहँदा भने नेकपा माओवादी केन्द्रका नेताले नेकपा एमालेका नेता विष्णु पौडेलसँग विशेष संवाद गरिरहेका थिए । वर्षमान पुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा अब सरकार बन्न नहुने तर्क गरिरहेका थिए । उनलाई पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व चाहिएको थियो ।

यही कुरा उनले विष्णु पौडेलसँग राखेका थिए ।



विष्णु पौडेलले उनलाई कुनै जवाफ दिएनन् । नेकपा एमाले गठबन्धन टुटोस् भन्ने त चाहन्थ्यो, तर यसलाई कसरी सम्भव बनाउने भन्ने बाटो देखिरहेको थिएन ।

एमाले अहिलेको गठबन्धन सँगै नहोस् भन्ने चाहन्थ्यो, नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दै नबनोस् भन्ने चाहन्थ्यो । त्यसका लागि उसले फालेको नयाँ कार्ड थियो– प्रचण्डलाई प्रधानमन्त्री बनाउने ।



प्रचण्डलाई गठबन्धनबाट छुटाएर यति छिटो आफू कहाँ ल्याउन सकिनेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ढुक्क थिएनन् । त्यसैले त उनले पोखराको लिटरेचर फेस्टिभलमा समेत अब प्रचण्ड प्रधानमन्त्री बन्ने सपनालाई ढिला भएको र नेकपा एमालेले सहयोग गर्न नसक्ने बताएका थिए ।

यता, नेकपा एमालेका विष्णु पौडेलले पुनलाई आइतबार ग्रिन सिग्नल दिए । उनले आलोपालोमा प्रधानमन्त्री हुन र पहिले प्रचण्डलाई प्रधानमन्त्री दिनका लागि आफ्नो दल तयार भएको सन्देश पुनलाई पठाए ।

बालुवाटारमा बैठक बसिरहेका प्रचण्डले जसै यो कुरा सुने, उनी त्यहाँबाट निस्किएर बालकोट लागे । बालकोटमा उनी पुगेपछि उनले अन्य पाँच दलका अध्यक्ष तथा सभापतिहरुलाई पनि बोलाएका थिए । 

बालकोट पुगेका प्रचण्ड फेरि फर्किएर बालुवाटार आउँछन् भन्ने सोचिरहेका थिए, कांग्रेसका नेताहरुले । तर, उनले उल्टै कांग्रेस नेताहरुसँगको सम्पर्कमा रहेका जनमत पार्टीका सिके राउतलाई पनि बालकोटमा नै बोलाए । 

आइतबार साँझ उनले सिके राउतको पार्टी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एमालेसहितका पाँच दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । बहुमत पुर्याएर उनी राष्ट्रपति कार्यालय पुगेपछि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । प्रचण्डले सोमबार दिउँसो प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।

आइतबार दिउँसो आफूलाई प्रधानमन्त्री नदिने भए एमालेसँग मिलिदिन्छु भन्ने घुर्की लगाएर बालकोट पुगेका प्रचण्डका सामु अब सम्झौता गरेको समयसम्मका लागि सरकारको नेतृत्व चलाएर देखाउनु पनि हुनेछ ।

  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार २१:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया