सरकारको एक वर्ष कुरामा नम्बर वान, काममा जिरो : डा. महत

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एव‌ं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् । 

शुक्रबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पूरै निराश तुल्याएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पूरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

उनले मूल्यवृद्धि अकासिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेस गरे । उनले भने, ‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको ब्याजदर बढिरहेको छ ।’ 

त्यस्तै, उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘इज अफ डुइङ बिजनेस’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने, ‘सुशासनको त कुरै नगरौँ । सुनकाण्ड, चिनी काण्ड, त्यस्तै वाइडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सूक्ष्म रूपमा हेरिरहेका छौँ ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको भन्दै उनले थपे, ‘बुढीगण्डकीको कथा पनि त्यस्तै छ । एनसेलको करछलीमा अदालतले कर उठाउन भनेको छ ।’ संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उनको सुझाब छ । सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उनले आरोप लगाए । ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन,’ महतले भने ।

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पूरै असफल भएको उनको आरोप छ । उनले भने, ‘काठमाडौंमा बिम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौँ भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’



एसिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे । 



  • प्रकाशित मिति : फागुन ३, २०७५ शुक्रबार १४:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया