प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने - प्रतिबद्धता व्यवहारमा लागू होस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिँदै जनअपेक्षाअनुसार नमूना काम गर्न आग्रह गरेका छन् ।

४ मंसिरको निर्वाचनपछि सोमबार पहिलोपटक बसेको प्रतिनिधिसभा बैठकमा प्रचण्डलाई बधाई दिँदै उनले भने, ‘जनअपेक्षाअनुसार नमूना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बोली व्यवहारमा एकता कायम होस् ।’

नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेका बताए । मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएको उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि सबै एकजुट भएर जनतालाई सुशासनको प्रत्याभूति हुने गरी काम गर्नुपर्ने बताए ।  

मुलुकमा बढेको कालोबजारी, महँगी र बेरोजगारीलाई अन्त्य गर्नेगरी काम गर्न सरकारलाई आग्रह गर्दै उनले सङ्कटग्रस्त अर्थतन्त्र उकास्ने गरी काम गर्न सुझाव दिए । सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने नेपालको भनाइ छ । जनतालाई अनुभूत हुनेगरी संघीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपालले समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने बताए ।       

विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्नेमा पनि उनको जोड छ । नेपालले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको पनि बताए । 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १६:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया