सरकारलाई ओलीको प्रश्न : लिम्पियाधुरा, लिपुलेक र कालापानीको अवस्था के छ ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ती भू–भाग नीति तथा कार्यक्रममा केही उल्लेख गरेको भन्दै आपत्ति जनाएका हुन् ।    

‘सरकार परराष्ट्र सम्बन्ध सञ्चालनमा हतास देखिएको छ । पियानो बजाउन दुवै हातका दश औँलाको चाल र गति आवश्यक पर्छ । तर, दशवटै औँलाले एकैपटक पियानो थिच्यो भने त्यसमा कर्कश ध्वनी मात्रै पैदा हुन्छ । त्यसले संगित पैदा गर्दैन । अहिले सरकारले दशवटै औँला एकैपटक थिचेजस्तो वीभत्स आवाज मात्रै आएको छ । र, त्यसबाट छिमेकी मित्र राष्ट्रहरू र विदेशी समुदायलाई कूटनीतिक अपरिपक्वताको परिचय दिएको छ,’ ओलीले भने, ‘नेपाल र नेपालीको परिचय किमार्थ हुन सक्दैन । विषय बुझ्दा ढिलो भइसकेको हुन सक्दछ । सरकारको यस नीतिले नेपालको प्रतिनिधित्व गर्न सक्दैन ।’

ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा भारतसँगको समस्याबारे खुलस्त छलफल गरी समस्याहरू समाधान गर्नुपर्ने पनि बताए । वर्तमान सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन हुने जिकिर गर्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा पर्छ कि पर्दैन भनेर सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए । 

‘यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन ? यो सरकारलाई थाहा भएको पनि देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन । त्यहाँ बोलिँदैन । सम्माननीय प्रधानमन्त्रीज्यू केही दिनमा नै भारत भ्रमण जाँदै हुनुहुन्छ,’ ओलीले भने, ‘यस हिसाबले म अलिक गम्भीर समस्या यसमा देख्छु । मित्रसँग मित्रतापूर्ण ढंगले खुला कुरा गर्नुपर्‍यो । यो हो कुरा भनेर । हाम्रा भनाइहरू यी हुन् । त्यसो गर्दा सबैलाई फाइदा हुन्छ । त्यो कुरा किन भन्न नसक्ने ?’

ओलीले थप प्रश्न गरे, ‘छिमेकी मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई सम्माननीय प्रधानमन्त्रीज्यूले कसरी लिनु भएको छ ? सम्बन्ध सञ्चालन मित्रवत छ कि छैन ? राष्ट्रियहितको जेन्यून इस्यूहरू खुलस्त राख्नु भएको छ कि छैन ? राख्ने गर्नु भएको छ कि छैन ? समस्याका कारणहरू र समाधानका विषयहरूबारे कुरा गर्नु भएको छ कि छैन ? समस्या छन भन्ने कुरा राख्नु भएको छ कि छैन ? लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको अहिलेको अवस्था के छ ? के छ त्यहाँ ? सीमा सुरक्षित नै छ ? अस्ति मैले एक ठाउँमा बोले– हाम्रो भूगोल अलिकति खुम्चियो भनेर । एउटा मिडिया टेलिभिजनले त यतिसम्म भन्यो कि जे पायो त्यही बोलेर हिँड्ने केपी ओलीलाई किन जेल हालिँदैन भनेर । देशको पक्षमा बोलेको हुनाले किन जेल हालिँदैन भन्यो । चीनमा भएका फाँसी दिइन्थ्यो, गोली ठोकिन्थ्यो । यहाँ किन बोल्न दिइएको छ भन्यो ।’



उनले कालापानी क्षेत्रमा नयाँ संरचना बनिरहेको सुनेकाले यस विषयमा सरकारले सदनमा जानकारी गराउन पनि माग गरे ।  

‘कालापानी क्षेत्रमा नयाँ संरचना बन्दै गरेको समाचारहरू सञ्चारमाध्यमहरूमा आएका छन् । त्यो हो कि होइन ? यथार्थ के हो ? यस सम्मानित सदनलाई र यस सदनमार्फत् सम्पूर्ण नेपालीलाई यी राष्ट्रिय महत्वका सर्वाधिक चासो र प्राथमिकताका विषयमा जानकारी गराउन पर्छ कि पर्दैन ? अवश्य जानकारी गराउनु पर्छ । र, म जानकारी गराउन माग गर्दछु,’ ओलीले भने, ‘यस विषयमा प्रधानमन्त्रीजीले संसदलाई जानकारी गराउनै पर्छ । यस सदन र सदनमार्फत् नेपाली जनतालाई सो जानकारी गराउनु पर्छ । हाम्रो भूमिमा संरचना बनिराखेको छ कि छैन ? व्यक्तिको सोच, नियत र संस्कारले सामाजिक संस्कृतिको रूप लिँदै जान्छ ।’  



  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार १३:२२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया