‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ कुरा उठेपछि संसदमा कसले के भने ?
फाइल तस्बिर

प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केही बेर अवरोध हुन पुगेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणीकरणको सम्बन्धमा आफ्नो मन्तव्य राखेसँगै सांसदहरूलाई प्रश्न सोध्न दिइएको थियो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आउनुभएको भन्ने कुरा राखे । 

उनले भने ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरू आए ...’

लगत्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरूले नियमापत्ति जनाउँदै उठेका थिए । सभामुखले प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो कुरा राख्न समय दिएसँगै उनले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।

उनले भने, ‘संसदमा मर्यादित शब्द प्रयोग हुनुपर्छ । भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट मेटाइयोस् ।’ यता, हीतराज पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरू उठे सँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरू पनि उठिसकेका थिए । उनीहरूको कुरा थियो सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरूले बोल्न नदिएर नियम मिचेको । सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिए। थापाले सत्तारुढ दलका सांसदहरूले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधि सभा नियमावलीको नियम मिचेको बताए ।

उनले भने, ‘यहाँ माननीय सदस्यले बोलिरहेको बेला सत्ता पक्षका माननीय सदस्यहरूले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइँदैन । यो नियमावलीको पालना गरियोस् । यसको निम्ति जोड गर्न चाहन्छु । यो दादागिरी स्वीकार्य हुन्न । यो कुनै हालतमा स्वीकार्य हुन्न ।’ 

यसपछि सभामुखले प्रश्न सोध्ने सांसदहरूलाई मर्यादामा रहेर प्रश्न गर्न र कोही सदस्य बोल्दै गर्दा अर्को सदस्यले प्रतिवाद नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावली नियम २०(झ) प्रति सांसदहरूलाई आकर्षित गरे । सभामुखको आग्रहपछि पनि सत्तापक्ष र प्रतिपक्षका सांसदहरू नबसेपछि सभामुखले प्रधानमन्त्री भैँसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिए ।



उनले भने, ‘भैँसी चढेर आएको भन्ने शब्द यो रेकर्डबाट हटाउनको लागि म सचिवालयलाई निर्देशन दिन्छु ।’ यसपछि प्रतिपक्षी दलहरूको विरोध झनै चर्को भयो । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले संसदको रोष्टमबाट भैँसी चढेर प्रसङ्ग निकालेको भन्दै प्रधानमन्त्रीको शब्द पनि रेकर्डबाट हटाउन माग गरे । रास्वपा सभापति तथा सांसद रवि लामिछानेले पनि प्रधानमन्त्रीले बोलेको शब्द पनि हटाउन माग गरे । बैठक अवरोध जारी रह्यो ।

त्यसपछि सभामुखले भैँसी चढेर आएको भन्ने शब्द जसले बोलेको भए पनि रेकर्डबाट हटाउन निर्देशन गरेको कुरा बैठकलाई जानकारी गराए । प्रधानमन्त्रीको नाम भने लिएनन् । प्रतिपक्षीहरू प्रधानमन्त्रीको नामै लिएर शब्द हटाउन निर्देशन दिनुपर्ने मागमा थिए । बैठक अवरोध जारी रह्यो ।



लगत्तै सभामुखले प्रधानमन्त्री भारत भ्रमणबाट आउँदा भैँसी चढेर आएको भन्ने शब्द संसद रेकर्डमा रहनु उपयुक्त नभएको पुनः ध्यानाकर्षण गराए । यसर्थ आफूले हटाउन रुलिङ गरिसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले बोलेको र सांसदले बोलेको कुरालाई एकै ठाउँमा गाँसेर हेर्न नमिल्ने बताए । र बैठक सञ्चालन गर्न आग्रह गरे ।

उनले भने,‘आजको हाम्रो छलफलमा छलफल चलिरहँदाखेरी हाम्रो देशको प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल प्रचण्ड ज्यु भारतबाट नेपाल आउँदा भैँसी चढेर आएको भन्ने शब्द यो रेकर्डमा रहनु उपयुक्त भएन । त्यसले गर्दा खेरी यस्ता शब्द हटाउनु उपयुक्त हुन्छ भनेर मैले रुलिङ गरेको छु । जहाँसम्म प्रधानमन्त्रीज्यू बोल्दा खेरी मलाई पनि भैँसी चढाएका थिएँ भन्ने कुरा आज उहाँ बोल्दाको रेकर्डमा आएको छ । भैँसी म पनि चढेको थिएँ, भैँसी चढाएका थिए भन्ने उहाँको कुराहरू आएको छ । यसलाई त्यसरी एकै ठाउँ गाँसेर नहेरीकन भैँसी चढेर आएको हाम्रो प्रधानमन्त्री भारतबाट भन्ने रेकर्ड हाम्रो संसदको यो इतिहासमा त्यस्तो रेकर्ड उचित हुन्न भनेर मैले रुलिङ गरेको कुरालाई अनुरोध गर्दै माननीयज्युहरू बसौँ । खासगरी नियमावलीमा आकर्षित भएर आफ्ना विषयहरूलाई राखौँ । आपत्तिहरूलाई राखौँ र व्यवस्थित ढंगबाट संसद सञ्चालन गर्न लागौँ । म यहाँहरूलाई यो अनुरोध गर्दछु ।’

यससँगै सबै सांसदहरू आ–आफ्नो सिटमा बसे । प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूचीले निरन्तरता पायो । यसअघि बोल्दाबोल्दै रोकिन पुगेका रास्वपा सांसद शिशिर खनालले आफ्नो प्रश्नलाई पूर्णता दिन पाउनुभयो र सांसदहरूको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रम क्रमशः अगाडि बढ्यो ।  

  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १४:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया