बैंक खाताबाट रकम चोरेको आरोपमा सातजना पक्राउ

अवैधरूपमा बैंक खाताबाट रकम चोरी गरेको आरोपमा सातजना पक्राउ परेका छन् । 

रौतहटको वृन्दावन नगरपालिका–३ निवासी रामेश्वरराय यादवको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट ५ जेठमा गैरकानुनीरूपमा ९ लाख ट्रान्सफर गरेको आरोपमा उनीहरू पक्राउ परेको हुन् । उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको ९ लाख रकम जेठ ५, ६ र ७ गते दैनिक ३ लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगर–१६ नगवाका २१ वर्षीय राजनारायण चौरासिया, वडा नम्बर १९ केहुनी विन्दावासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा वैदेश्वर गाउँपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दीपे सदा र २३ वर्षीय श्रवण दास रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ६ थान मोबाइल, विभिन्न व्यक्तिको विभिन्न बैंकको १५ थान एटीएम कार्ड, मोटरसाइकल १ थान र ६६ हजार नगद बरामद गरेको हो ।

पक्राउ परेकाले अनधिकृत रूपमा बैंकको खातामा पहुँच पुर्‍याई विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको अनुसन्धानबाट खुलेको हो । उनीहरूले अनधिकृतरूपमा ट्रान्सफर भएको रकम एटीएमबाट गैरकानुनी तवरले निकाली आर्थिक लाभ लिने गरेका थिए ।



यसका साथै विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभनमा पारी खाता खोल्न लगाई खातावालाको मोबाइल अनलाइन बैकिङको युजरनेम र पासवर्ड समेत पहुँचमा लिई खाताहरूबाट रकम ट्रान्सफर गरी रकम ठगी गर्ने गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेकाबाट प्रहरीले मोबाइल ६ थान, विभिन्न व्यक्तिका बैंकको एटीएम १५ थान, मोटरसाइकल १ थान र ६६ हजार नगद रकम बरामद गरेको छ । 



  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार २२:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया