वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज

सामाजिक सुरक्षा कोषले चालू आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक ७ दशमवल ५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । 

कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । कोष सञ्चालक समितिको बैठकले अवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८ दशमवल ६० प्रतिशत व्याज लाग्ने निर्णय गरेको हो । 

धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९ दशमवल २५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जाना ब्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उनका अनुसार कोषमा हालसम्म ३६ अर्ब ४४ करोड रुपैयाँ योगदान रकम सङ्कलन भइसकेको छ ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा १ अर्ब ९८ करोड ४० लाख ५६ हजार रुपैयाँ र अतिरिक्त योगदान शीर्षकमा ९ अर्ब ६१ करोड १५ लाख २८ हजार रुपैयाँ सङ्कलन भएको कोषले जनाएको छ । 

कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका ४ लाख २३ हजार नौ सय २९ र वैदेशिक क्षेत्रका २ लाख २३ हजार ५ सय ३५ गरी कूल ६ लाख ४७ हजार ४ सय ६४ श्रमिक आबद्ध भएका छन् । 

कोषले ८९ हजार २ सय ४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत ५ अर्ब ७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।   





  • प्रकाशित मिति : साउन १, २०८० साेमबार १२:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया