अहिले माओवादी नेतृत्वको सरकार भएकोमा खुसी लागेको छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताएका छन् । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनले सो प्रतिक्रिया दिएका हुन् । 

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौति : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुसीको कुरा भएको बताए ।

भ्रष्टाचार विरोधी लडाइँमा सरकार आफैँ सहभागी हुनु रामो कुरा भएको उल्लेख गर्दै महासचिव विप्लवले त्यसका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे । उनले श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत बताए । 

महासचिव विप्लवले भने, ‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ । खुसी पनि लागेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नेतृत्वमा सरकार छ । अरू समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ । र, एउटा लडाई जस्तो पनि देखिएको छ । यो राम्रो कुरा हो । हामीले भनेका छौँ–सरकारले त्यो लडाइँ लड्नु पर्छ । सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ । र, हामीले दिएका पनि छौँ । यो सही कुरा हो ।’

महासचिव विप्लवले दलाल पुँजीवादी व्यवस्था कायमै रहेकाले नेपालमा पनि भ्रष्टाचार मौलाएको जिकिर समेत गरे  । यो व्यवस्था रहेकै कारण मुलुकमा भ्रष्टाचार नागरिक तहसम्म सल्केको उनको भनाई छ ।





  • प्रकाशित मिति : साउन ८, २०८० साेमबार १५:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया