प्रधानमन्त्री दाहालको दाबी- सरकारको भ्रष्टाचारविरोधी कदमले जनतामा आशाको सञ्चार गरायो

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको महत्वपूर्ण कामहरूले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताएका छन् । 

उनले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा चालेको कदमले जनतामा नयाँ आशासहितको नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको बताएका हुन् ।  

‘वर्तमान सरकार नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुसार बदलिएको व्यवस्था अनुसार जनताको दैनिक जीवन र अवस्था पनि बदल्न सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ यात्रातर्फ अगाडि बढ्ने जमर्को गरिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यस्तो सन्दर्भमा सरकार गठनको ७ महिनाको अवधिसम्म पुग्दा जेजति मिहिनेत भएको छ, यसबाट जे जति उपलब्धिहरू हासिल हुँदै छन् । त्यसले देश र जनताको पक्षमा इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ ।’ 

आइतबार काठमाडौंमा आयोजित स्वर्गीय माधवप्रसाद मरहट्ठाको स्मृतिमा लेखिएको पुस्तक ‘माधव सर’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सात महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिले इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए । 

उनले सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गरे ।

‘पछिल्लो समय भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन् । यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ । नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदैछ । यस सन्दर्भमा सरकारको भ्रष्टाचार विरोधी अभियानमा दृढताका साथ सहयोग र ऐक्यबद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा आभार पनि व्यक्त गर्न चाहन्छु । र, माधव मरहट्ठा जस्ता बहुआयामिक व्यक्तित्वका धनीको प्रेरणा पनि यस सन्दर्भमा महत्वपूर्ण रहेको कुरा म प्रष्टसँग यहाँ राख्न चाहन्छु,’ प्रधानमन्त्री दाहालले भने ।



उनले सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत दोहोर्याए । उनले मरहट्ठाले माओवादी जनयुद्धको बीजारोपण, घोषणा, विकास र त्यसको शान्तिपूर्ण रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे ।   



  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १४:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया