नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको छ : उपेन्द्र यादव
फाइल तस्बिर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका छन् । आइतबार समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले नेपालको शिक्षा क्षेत्र ध्वस्त भएको बताएका हुन् । 

उनले नेपालको शिक्षा क्षेत्र अराजक र बेवारिसे भएको पनि बताए । उनले सरकारले लगानी गरेको विद्यालय, क्याम्पस र विश्वविद्यालयहरूमा पढ्ने विद्यार्थी नै पाउन छोडिसकिएको बताए । उनले देश प्रगतिको मुख्य आधार नै शिक्षा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए । 

उनले भने,  ‘शिक्षा क्षेत्र ध्वस्त भएको छ । नेपालमा सबभन्दा अगाडि ध्वस्त भएको, सबभन्दा बढी बरबाद भएको, सबभन्दा बढी अराजक भएको, सबभन्दा बढी बेवारिसे भएको कुनै क्षेत्र छ भने त्यो शिक्षा क्षेत्र नै छ । चाहे त्रिभुवन विश्वविद्यालयमा जानुस्, अन्त जानुस् । सरकारले लगानी गरेको स्कुलमा जानुस् ।’ 

उनले नेपालको संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि व्यवहार भने विकृत पुँजीवादको उन्मुख भएको बताए । त्यसै गरी सरकारको नीति, कार्यक्रम र बजेट कर्मचारीले बनाउने गरेको उल्लेख गर्दै उनले कर्मचारीले बनाएको नीतिको आधारमा समाजवाद नआउने बताए । उनले राजनीतिक व्यक्ति, समाजवादी चिन्तक र बौद्धिक वर्गहरूले देशको नीति, योजना र कानुन बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,  ‘देश जतासुकै जाओस् केही मतलब छैन । यो स्थितिबाट मुक्त गरेर राजनीतिक व्यक्तित्वहरू, विचारकहरू, बौद्धिक वर्गहरू बसेर, समाजवादी चिन्तकहरू बसेर मुलुकलाई कुन दिशामा जाने हो, त्यही अनुसार नीति, कार्यक्रम, कानुन र योजना बनाएर अगाडी बढाउनुपर्ने बेला हो । ब्युरोक्रेसीको भरमा समाजवादको कल्पना गर्न सकिँदैन । परिवर्तन यहाँनिर आवश्यकता छ ।’ 





  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १७:२३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया