पटकपटक समातिन्छन् नक्कली डाक्टर, नागरिकमा आशंका बढ्दो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बिहीबार (२४ असार) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले मेडिकल व्यवसायी तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई पक्राउ गर्‍यो । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा सिआइबीले शर्मालाई पक्राउ गरेको हो । 

उनी समातिएलगत्तै नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा पक्राउ पर्नेको संख्या बढेको छ । यो समाचार तयार पार्दासम्म यस प्रकरणमा शर्मासँगै डा. श्रद्धा सिल्पकार, डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी पक्राउ परेका छन् । उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका सिआइबीले जनाइएको छ । 

यस्तै, सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामै शुक्रबार डा. मनिष चौधरी र डा. पुनम थापालाई पनि पक्राउ गरेको छ । मोरङमा क्लिनिक चलाएर बसेका मनिषको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सिआईबीले पक्राउ गरेको हो । सिआईबीले कथित नक्कली प्रमाणपत्रधारी डाक्टरमाथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ८ जनालाई पक्राउ गरेको हो ।  

गत वर्ष २७ असोजमा सुर्खेतको वीरेन्द्रनगरबाट एकजना नक्कली चिकित्सक पक्राउ परेका थिए । पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका–१ का २२ वर्षीय डिलबहादुर महतरा रहेका थिए । नक्कली चिकित्सक बनेर उनले डेन्टल केयर क्लिनिक सञ्चालन गरिरहेका थिए । 

गत वर्ष नै १३ वैशाखमा मोरङको दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुईजना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजना भारतीय नागरिक थिए । उनीहरूले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र नलिई क्लिनिक सञ्चालन गरी ‘डाक्टर हुँ’ भन्दै ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो । 

नेपालमा बेला–बखत नक्कली शैक्षिक प्रमाणपत्रधारी तथा नक्कली चिकित्सक पक्राउका घटना बाहिरिरहेका हुन्छन् । बर्सेनि नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई पक्राउ गर्दा जनता झस्किन थालेका छन् । बिरामी हुँदा निर्धक्क डाक्टरको सल्लाहको पालना गर्नेहरू आशंका गर्न थालेका छन् ।



बारम्बार नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकको खुलासा हुँदा पनि सरोकारवाला निकाय भने गम्भीर हुन सकेका छैनन् । स्वास्थ्यजस्तो सम्वेदनशील विषयमा सरकारले व्यवस्थित तरिकाले अघि बढेको पाइँदैन । विगतमा पनि नक्कली डाक्टर पटकपटक पक्राउ परे । तर तत्कालीन सरकारहरूले पनि यस विषयलाई गम्भीररूपमा लिएनन् ।  

नक्कली चिकित्सकका घटना पटक–पटक किन बाहिरिरहन्छन् भन्ने फरकधारको प्रश्नमा नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारी नक्कली चिकित्सकविरुद्ध उजुरी परेपछि छानबिन गर्दा उक्त घटना बाहिरिने गरेको बताउँछन् ।  



‘चिकित्सकहरूको नाम दर्ता गर्दा उनीहरूका सबै शैक्षिक प्रमाणपत्र काउन्सिलले हेर्छ । दर्ताका बखतमा पनि चिकित्सकहरूलाई ‘काउन्सिलमा पेस गरिएका शैक्षिक प्रमाणपत्र झुटा साबित भए, सोहीअनुसारको कारबाही गरिनेछ’ भनिएको हुन्छ । उनीहरूले काउन्सिलका सबै नीति, नियममा टेकेर दर्ता प्रक्रिया अगाडि बढाउँछन्,’ डा. अधिकारीले भने, ‘यति हुँदाहुँदै पनि बिना डर, त्रास उनीहरू काउन्सिलमा दर्ता प्रक्रियामा जान्छन् । पछि नक्कली चिकित्सकविरुद्ध मुद्दा पर्छ र छानबिन भएपछि उनीहरू नक्कली भएको थाहा हुन्छ ।’

यस्तै, उनले पहिलेको समयमा चिकित्सकले पेस गरेका शैक्षिक प्रमाणपत्रको विस्तृत खोजी गर्ने नीति नियम नहुँदा पनि यस्ता घटना बाहिरिने गरेको बताए । ‘पहिले चिकित्सकले पेस गरेका प्रमाणपत्रबारे खोजी हुँदैन थियो । तर, आजभोलि शंका लागेका शैक्षिक प्रमाणपत्रबारे काउन्सिलले खोजी गर्छ,’ डा. अधिकारीले भने । 

काउन्सिलका अनुसार नक्कली डाक्टर खोजी गर्ने प्रहरीको ‘अपरेसन चार्ली फोक्टर’ अन्तर्गतले लामो समयदेखि अनुसन्धान भइरहेको छ । अहिले पुरानो मुद्दा हेरेर अनुसन्धान पनि भइरहेकाले यसपटक पनि मेडिकल क्षेत्रमा रहेका नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक पक्राउपर्ने काउन्सिलको दाबी छ । 

  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार २०:४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया