राइट-टु-रिकल : जनमतका महामन्त्रीसहित चार सांसद फिर्ताको सूचीमा

जनमत पार्टीका महामन्त्री तथा मधेश प्रदेशका मन्त्री चन्दन सिंहसहित चार प्रदेशसभा सदस्य फिर्ता बोलाइने सूचीमा परेका छन् । जनमतले पार्टी सदस्यहरुबाट मतदान गराउँदा ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि चार जनप्रतिनिधि फिर्ता बोलाउने सूचीमा परेका हुन् । 

प्रत्यावहान अधिकार (राइट–टु–रिकल) मुद्दा उठाउँदै आएको सो पार्टीले पार्टी सदस्यहरुबाट मतदान गराउँदा मधेश प्रदेशमा श्रम तथा यातायातमन्त्री रहेका पार्टी महामन्त्री सिंह, सिरहा ४ (१)का त्रिभुवन साह, भाग्यश्रीकुमारी चौधरी र महोत्तरी ३ (२)का अनिताकुमारी साहले ५० प्रतिशत मत कटाउन नसकेका हुन् । 


जनमतका मधेश प्रदेशमा १३ र लुम्बिनीमा ३ गरी १६ सांसद छन् । पार्टीका सा‌ंसद प्रत्यक्ष र समानुपातिक दुवै छन् । पार्टीले कार्यकर्ता माझ शनिबार मतदान गराएको थियो । 

जनमतले गराएको मतदानमा मधेश प्रदेशमा सांसदले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्रको पार्टीबाट निर्वाचित वडाध्यक्ष, वडाध्यक्षका प्रत्यासी, गाउँपालिकाको पदाधिकारी, पालिका प्रत्यासी, जिल्ला परिषदका सदस्यहरु, सो निर्वाचन क्षेत्रमा रहेको प्रदेश कमिटीका सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद्‍का सदस्यहरु मतदाता थिए ।

आफ्ना पार्टीका नेता स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो, उनीहरुको काम गराइबाट नागरिक सन्तुष्ट छन् कि छैनन् तथा उनीहरुको व्यवहार कस्तो छ लगायतका विषयमा मूल्यांककन गर्न पार्टीभित्र मतदान गर्ने प्रक्रिया अपनाइएको सो पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताए । 

‘स्थानीय तहमा जितेका जनप्रतिनिधिले गरेका कामका विषयमा मतदान भयो, प्रतिनिधिले मतदान गरे, कुन जनप्रतिनिधिलाई नागरिकले रुचाए वा कुनलाई रुचाएन त्यो मतदानबाटै थाहा भयो, उनले भने, ‘राइट टु रिकल भनेको जनप्रतिनिधि फिर्ता बोलाउने हो, तर त्यो हाम्रो संविधानमा छैन, कानुन संशोधन गरेर बनाउन सक्ने अधिकार पनि नभएकाले मतदानमा जसको कमजोर नतिजा आउँछ, उसलाई सुध्रिने मौका दिने, सचेत गराउने, त्यति पनि नभए पार्टीबाट निकाल्ने सम्मको अवस्था आउन सक्छ ।’ नेपालमा यो अभ्यास गर्ने जनमत पार्टी पहिलो पार्टी भएको प्रवक्ता डा. यादवले दाबी गरे ।



मतदान परिणामअनुसार महासचिव सिंहले कुल खसेको ४६ मतमध्ये १४ मात्रै प्राप्त गरे । उनको विपक्षमा २८ मत खस्यो । त्यसैगरी सोही क्षेत्रकी अनिताकुमार साहको विपक्षमा २३ र पक्षमा १४ मत पर्यो । 

१ सय १ मत खसेकोमा प्रदेश सांसद त्रिभुवन साह र भाग्यश्री चौधरीको विपक्षमा ७९–७९ मत पर्‍यो भने पक्षमा क्रमशः २० र २१ मत परेको छ ।



  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार २२:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया