प्रधानमन्त्री दाहाल–चिनियाँ राष्ट्रपतिबीचको भेटमा के भयो सहमति ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चीनफिङबीचको भेट सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्जाओ पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुल्ला र स्पष्ट रुपमा छलफल गरेको र सो भेट ऐतिहासिक भएको दाहालको सचिवालयले जनाएको छ । 

‘वार्तामा दुवै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । यसैगरी दुवै नेताबीच एक–अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ,’ दाहालको सचिवालयले भनेको छ ।

यस्तैगरी, राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिक रूपमा समेत भेटवार्ता भएको थियो । 

एक घण्टा लामो वार्तामा राष्ट्रपति सी जिनपिङले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताएका थिए । 

प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए । 



प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘उहाँले नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गर्नुभयो ।’

प्रधानमन्त्री दाहालले चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षासमेत व्यक्त गरेका थिए । 



राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँगका यसअघिका भेटहरुको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियावाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरेका छन् । उनले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् । 

  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार २०:५४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया