logo-img

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले असोज २० गते विश्वासको मत लिने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशको प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश पेस भएको छ । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले ती अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको हो ।
प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलहरुका तर्फबाट नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण भण्डारीले मुलुकको आर्थिक अवस्था कमजोर हुँदा जनतामा नकारात्मक सोच बढ्ने भन्दै राजनीतिक दल र सरकारको ध्यानाकर्षण गराए । 

सामाजिक सद्भाव भड्किन नदिन विकास निर्माण र आर्थिक क्रियाकलाप बढ्नुपर्ने धारणा राख्दै उनले कोशी प्रदेशमा सरकार गठन र विघटनको खेलले जनतामा निराशा बढेको बताए । उनले कोशी प्रदेशमा स्थिर सरकार निर्माणका लागि दलहरुबीच सहकार्य, सद्भाव र एकताको आवश्यकता औँल्याए । 
    
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा नामकरणको विवाद यथावत रहेको अवस्थामा सरकार गठन र विघटनले झन समस्या थपेको बताए । उनले प्रदेशको कहालीलाग्दो अवस्थाबाट पार लगाउन राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नरहेको बताए । 



नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफूअनुकूल सरकार बनाउन सहमति र सहकार्य गर्ने र अरुको अस्तित्व स्वीकार नगर्ने परिपाटीले समस्या निम्तिएको बताए । 
    
नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रदेशमा शान्ति स्थापना गर्नका लागि बहुपहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने धारणा राखे । 

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गीता रेग्मी, गोविन्द गिरी, गोम्बु शेर्पा, जयप्रकाश चौधरी, इन्दिरादेवी खनाल, रमेशकुमार बस्नेत, राजन किराती, शोभा चोम्जोङ, सदानन्द मण्डल र सविना बजगाईंले प्रदेशको समसामयिक विषयमा बोलेका थिए । 

आजको बैठकले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, कोशी प्रदेशसभाका पूर्वसदस्य ताहिर मियाँ अन्सारीको असामयिक निधनप्रति गहिरो समवदेना प्रकट गर्दै सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।



प्रदेश सभाको अर्को बैठक असोज २० गते दिउँसो १ बजे बस्नेछ । सोही  दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पनि लिने जनाइएको छ ।



  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार २१:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया