कर्जा बढाउने गरी मौद्रिक नीति समीक्षा : गभर्नर अधिकारी
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको बताएका छन् । 

आज काठमाडौंमा आयोजित चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले कर्जा विस्तारमा सहज हुने र पुराना असल ऋणीलाई व्यवसाय निरन्तरतामा सहज हुने नीति राष्ट्र बैंकले लिएको बताए ।

ऋण नतिर्ने ऋणीलाई कडारूपमा प्रस्तुत हुने तर वास्तविक समस्यामा परेका ऋणीलाई कर्जा पुनः संरचनामा सहजीकरण गरिने र मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने पनि अधिकारीले बताए ।

आन्तरिक रेमिट्यान्स खुलाउनेबारे राष्ट्र बैंकलाई आग्रह आएको र यसबारे अध्ययन गरेर कारोबार रकमको सीमा निर्क्यौल गरिने गभर्नर अधिकारीले बताए । ‘आन्तरिक रेमिट्यासको कारोबारमा कति रकम भन्नेबारे अध्ययनपछि मात्रै तय हुनेछ । तर मलाई लाग्छ, त्यति ठूलो रकममा हुँदैन । १० देखि १५ हजार रुपैयाँसम्मको हुनसक्छ’, अधिकारीले भने, ‘यसबारे रिक्वेस्ट र रिफ्रेन्स दुवै छ ।’ 

ब्याजदर करिडोर कायम गर्नका लागि राष्ट्र बैंक कटिबद्ध रहेको पनि उनको भनाइ छ । मुद्रास्फीतिलाई हेरेर नीतिगत दरलाई कायम गर्ने विषयमा पनि राष्ट्र बैंक दृढ रहेको गर्भनर अधिकारीले बताए ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको छ भने नीतिगत दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाएर पाँच दशमलल पाँच प्रतिशतमा कायम गरिएको छ । त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार १६:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया