ठूलोखोला जलविद्युतको टनेल ब्रेकथ्रु, ८ महिनाभित्र निर्माण सकिने

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा २ हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) निर्माण गरेको हो ।

संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मङ्सिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रवीन्द्र हमालले जानकारी दिए । उनका अनुसार हिमाली क्षेत्र र प्राकृतिक प्रकोपलगायत कारण आयोजनामा करिब २० महिना मात्रै नियमितरूपमा काम भएको छ ।  

७० प्रतिशत निर्माण सम्पन्न भएको यस आयोजनामा आगामी ८ महिनाभित्र निर्माण सकेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगङ्गा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरीस्थित रघुगङ्गा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । 

आयोजनामा छ सय मिटर पेनस्टक टनेल रहनेछ । चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेलमध्ये ५० मिटर खन्न बाँकी छ । 

यस आयोजनामा अहिले करिब २ सय २५ जना कामदारले नियमितरूपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली र नेपालीहरूको  ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । 

यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणाधीन पूर्वाधारमा क्षति पुर्याएपछि आयोजनको निर्माणकार्य केही पछि धकेलिएको हो ।



आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । 

आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रसारण लाइन निर्माणको चरणमा छ । रासस 



  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार ९:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया