बजार नपाउँदा बारीमै कुहिँदै गोलभेँडा, किसान चिन्तित

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि ५ सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले २ सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।  

गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए । उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् ।

गत वर्ष ३ लाख ७० हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष १ लाख रुपैयाँको पनि बिक्री नभएको बताए । ‘बिउ, गोडमेल, औषधिलगायतमा करिब ३ लाख रुपैयाँ जति खर्च भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब ६ लाख रुपैयाँ बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’  

इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा २ लाख १० हजार रुपैयाँ नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ छ ।

गतवर्ष २ लाख २३ हजार रुपैयाँको गोलभेँडा बेचेकी खिनकुमारी बस्नेतले यस वर्ष झन्डै १ लाख घाटा ब्यहोर्नुपरेको सुनाइन् । वैदेशिक रोजगारीबाट फर्किएर  गोलभेँडा खेतीमा लाग्नुभएका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए ।

नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर  गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए । उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए । रासस 





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १३:४३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया