अमरेशविरुद्ध खनिए युवा नेता, सम्पत्ति छानबिन गर्न माग

एनसेल प्रकरणबारे युवा नेताहरूको पत्रकार सम्मेलन गरेका छन् । सो क्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मंगल थापाले भ्रष्टाचार, अन्याय अत्याचारका विरुद्धमा युवाहरु लाग्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य भए मात्रै समृद्ध नेपालको कल्पना गर्न सकिने बताए । साथै, उनले अहिले चर्चामा रहेको एनसेल सेयर बिक्री प्रकरणमा कानुनबमोजिम लाग्ने कर तिर्नुपर्ने बताए । उनले भने, ‘एनसेललाई राज्यले नियमन गर्नुपर्छ । एनसेलले कर तिर्नुपर्छ ।’

कांग्रेसका नेता पुष्प शाहीले अग्रजहरुको बलिदानीका कारण आएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा उपलब्धि संस्थागत हुन नसकेको बताए । जुन उद्देश्यले राजनीतिक व्यवस्था परिवर्तन भयो, त्यसका उपलब्धि जोगाउन विसंगति हटाउनुपर्ने आवशयकतामा उनको जोड थियो । 

राजसंस्थाले राज्य संयन्त्र चलाउँदा र आजको दिनमा धेरै उनले बताए । राज्य सञ्चालनको क्रममा विभिन्न काण्डहरु आउने बताउँदै उनले एनसेलको शेयर प्रकरण पनि त्यसको एउटा कडी भएको भनाइ राखे । ‘कसैले पनि कर छल्न पाइदैन । एनसेलले पनि कानुनअनुसार राज्यलाई कर तिर्नुपर्छ,’ उनले भने । 

एनसेलविरुद्ध सर्वोच्चमा रहेको मुद्दा जनताको पक्षमा फैसला हुनुपर्ने उनको थियो । अर्को प्रसंगमा उनले कांग्रेस राजा र राजसंस्थाको पक्षमा नरहेको बताए । माओवादीको विगत जे भए पनि आज कांग्रेसको एजेण्डामा आएको उनले टिप्पणी गरे । 

उनले प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहतर्फ लक्षित गर्दै उनले युट्युब मोहका कारण विगतमा पनि विभिन्न नेता र उनका छोराछोरीमाथि आरोप लगाएको बताए । प्रमाण भए उजुरी गर्न उनले चुनौती दिए । 



माओवादी केन्द्रका नेता आरसी मैनालीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सचिवालयलाई मिथ्या आरोप लगाइएको बताए । परिवार नै क्रान्तिमा होमिएर व्यवस्था परिवर्तनमा योगदान दिएको उनको दाबी थियो ।

‘माओवादीले लडेर ल्याएको व्यवस्थामाथि राजतन्त्रको नाममा कुठराघात गर्ने कोसिस भइरहेको छ,’ उनले भने । संघीयता, धर्मनिरपेक्षता र समानुपातिक व्यवस्थाका विरुद्धमा केही मानिसहरु लागिरहेको उनले बताए । यो देशमा गाँस, बास, कपास, रोजगारीको पक्षमा माओवादी रहेको उनले बताए । ‘गणतन्त्रलाई निमोठ्ने कोसिस भएमा हामी चुप बस्दैनौँ,’ उनले भने, ‘देशलाई राजा चाहिएको नभएर विकास र समृद्धि चाहिएको छ ।’
 
त्यसैगरी, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले गणतन्त्रबाट फ्रस्टेसन भएर अहिले दैनिक ठूलो संख्यामा युवाहरुले देश छोडिरहेको बताए । नेपाली जनतालाई नसोधी नेपालको राजसंस्था हटाइएको बताउँदै उनले जनताले नै राजसंस्था फर्काउने बताए । 



कांग्रेसका सर्लाही नेता विकासकुमार ठाकुरले डा. अमरेशकुमार सिंहको सम्पत्ति छानबिन हुन आवश्यक रहेको बताए । अमरेशलाई कांग्रेसले पार्टीबाट निष्कासन गरेको उनको दाबी छ । ‘२०५७–५८ सालमा स्पेलेन्डर मोटरसाइकल चढ्ने हैसियत पनि नभएका अमरेश अहिले अर्बौंको मालिक छन् । कहाँबाट आयो ?’ उनले प्रश्न गरे ।
१५ वर्षको अवधिमा अमरेशले रोजगार, काम, व्यवसायविना नै अर्बौंको सम्पत्ति आर्जन गरेको आरोप उनले लगाए । आफूले करिब नौ महिनाअघि अमरेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएको नेता ठाकुरले बताए ।
 

  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार २०:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया