दक्षिण कोरियाली सेनाको दाबी : उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्‍यो

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सियोलको सेनाले जनाएको छ ।

‘उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,’ सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले भने । सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो ।

दुई मित्र राष्ट्रले शुक्रबार वासिङ्टनमा आणविक परामर्श दाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए ।

उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा पूर्ववर्ती किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले यो प्रक्षेपण गरेको हो । इलको सन् २०११ डिसेम्बर १७ मा निधन भएको थियो ।

उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो । उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ ।

गत महिना प्योङयाङले सैन्य जासुसी उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापित गरेको थियो । त्यसपछि उसले आकाशबाट आफ्नै प्रविधिले अमेरिका र दक्षिण कोरियाका प्रमुख सैन्य स्थलहरूको तस्बिर उपलब्ध गराइसकेको दाबी गर्दै आएको छ । 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार ७:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया