मन्त्रीको गाडी नै जलाउने गरी किन भइरहेको छ बालकुमारीमा प्रदर्शन ?
तस्बिरः उमेश श्रेष्ठको फेसबुकबाट

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरूले गरेको आन्दोलनले उग्ररुप लिएको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले एकजना मन्त्रीको गाडी नै जलाई दिएका छन् भने नेपाल प्रहरीले प्रदर्शनकारीहरूलाई अश्रुग्यास प्रहार गरेको छ । 

इपिएस परीक्षाको विषयलाई लिएर प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाई दिएका हुन् ।  मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीबाट उनलाई झारेर पर्दर्शनकारीहरूले आगजनी गरेका हुन् ।

बालकुमारी क्षेत्र तनावग्रस्त बनेपछि प्रहरी टोली घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका हुन् । 

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको थियो । उनीहरूनै अहिले आन्दोलित भएका हुन् । 

इपिएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गर्दा  यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो । 

उसो त यो मुद्दा अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनमा यस विषयमा मुद्दा दायर गरिएको थियो । जसबारे अदालतमा मुद्दा दिने सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । 



त्यसपछि अदालतको उक्त आदेशसँगै  इपिएस कोरिया शाखाले आज फाराम भर्नका लागि सम्बन्धित १८ जनालाई कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । तर, १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण  भएकाहरूले गरेका हुन् । 

माग सुनुवाइ नभएपछि उनीहरूले थालेको आन्दोलनले उग्ररुप लिँदै गएको छ । 



  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १३:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया