स्वास्थ्यकर्मीको अनुरोध : नयाँ भेरियन्ट जेएन-१ लाई नजरअन्दाज नगरौँ, ज्येष्ठ नागरिकले बढी सावधानी अपनाउनू
फाइल तस्बिर

संक्रमणदर तीव्र रहेको बताइएको जेएन–१ नेपालमा सोमबार पुष्टि भएको छ । गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको आनुवंशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्दा १६ पोजिटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको हो ।  

खासगरी छिमेकी मुलुक भारतमा केही सातादेखि कोरोना संक्रमण बढेसँगै नेपालमा पनि नयाँ भेरियन्ट जेएन–१ देखिन थालेको छ । विगतका वर्षमा पनि भारतमा कोरोनाको लहर देखिएपछि त्यसको केही समयको अन्तरालमा नेपाल कोरोना पुष्टि हुने गरेको छ । 

नेपालमा पनि नयाँ भेरियन्ट पुष्टि भएसँगै धेरै मानिसमा यो भाइरस कति घातक हो भन्ने जिज्ञासा उब्जिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक रहेका डा. शेरबहादुर पुनले पछिल्लो समय कोरोना परीक्षण गर्न आउने संख्यामा वृद्धि भएको बताए । 

‘केही दिनयता रुघाखोकीसहितका लक्षण लिएर उपचारमा आउने र परीक्षण गर्दा कोभिड संक्रमण पोजिटिभ देखिने बिरामीहरू बढ्न थाल्नु भएको  छ,’ डा. पुन भन्छन्, ‘नेपालको प्रारम्भिक अनुभवको आधारमा विश्लेषण गर्दा ज्येष्ठ नागरिकको लागि जेएन–१ भाइरस जटिल रोग हुनसक्ने देखिन्छ । यसर्थ यो भाइरसलाई पूर्ण रूपमा नजरअन्दाज गर्न मिल्दैन ।’ 

अनावश्यक भीडभाडमा नजाने, मास्क लगाउने र साबुन पानी वा स्यानिटाइजरले हात सफा राख्ने जस्ता उपायहरू अवलम्बन गरे भाइरसको फैलने तीव्रतालाई धेरै कम गर्न सकिने उनले बताए ।

यसअघि कम घातक मानिएको ओमिक्रोन भेरियन्टको सव–भेरियन्ट भएको हुँदा कम घातक हुने अनुमान गरिए पनि वृद्धवृद्धा र दीर्घरोगीलाई घातक हुन सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने सरुवारोग विशेषज्ञ डा. पुनको भनाइ छ । 



यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सात जनामा पुष्टि भएको ‘जेएन–१’ सव–भेरियन्ट संक्रमित भारतबाट आएका वा तेस्रो मुलुकबाट नआएको देखिएको बताए । यसकारण भित्रभित्रै संक्रमणको जोखिम बढ्दै भएको हो कि भन्ने देखिँदा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउनु पर्ने अवस्था आएको उनको भनाइ छ । 

‘जेएन–१ पुष्टि भेरियन्ट पुष्टि भएका संक्रमित भारतीय नाकाबाट भित्रिएका होइनन् । नाकाबाट संकलन गरिएको कुनै पनि नमुनामा जेएन–१ भेरियन्ट पुष्टि भएको होइन,’ डा. बुढाथोकीले भने, ‘जेएन–१ पुष्टि भएका सातमध्ये काठमाडौंका बढी छन् । केही पोखरा, चितवन, भक्तपुरको । प्रारम्भिक जानकारीमा उहाँहरू भर्खरै भारत लगायतको तेस्रो मुलुकबाट आएको ‘ट्राभल हिस्ट्री’ भेटिएको छैन । तर, उहाँहरू विदेशबाट हालै फर्केका व्यक्तिको सम्पर्कमा रहेको वा नरहेकोबारे बुझ्दै छौँ ।’



‘अहिलेसम्म हेर्दा कम घातक मानिए पनि यो निकै संक्रामक रहेको देखिएको छ । लक्षण पनि अलि परिवर्तित जस्तो देखिन्छ जसले गर्दा वृद्धवृद्धा र दीर्घरोगीलाई घातक हुन  सक्छ’, डा. पुनले भने, ‘सामान्यतः चिसो मौसममा भाइरस बढी सक्रिय हुन्छन् । अब फेरि संक्रमण देखिँदा हामीले पुनः जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने अवस्था आएको छ ।’ 

के हो जेएन–१ सवभेरियन्ट ?

जेएन–१ भेरियन्ट सबैभन्दा पहिले अमेरिकामा पुष्टि भएको थियो । तीव्र सङ्क्रमणदर रहेको यो भाइरस हालसम्म नेपालका छिमेकी राष्ट्र भारत र चीनसहित विश्वका ४० भन्दा धेरै देशमा फैलिसकेको विवरण आएका छन् । जेएन–१ भेरियन्ट अमेरिकामा सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ । यो सन् २०२२ मा सर्वाधिक फैलिएको ओमिक्रोन भेरियन्टकै नयाँ स्वरूप हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अहिले यसको जोखिमदर कम रहेको जनाएको छ । यसका साथै डब्लूएचओले कोभिडविरुद्ध मान्यता पाएका खोपहरूले जेएन–१ भेरियन्टविरुद्ध काम गर्ने भए पनि थप अध्ययन आवश्यक रहेको उल्लेख गरेको छ ।

यो भेरिअन्टले यसअघिका प्रजातिको भन्दा मानिसहरूमा थप स्वास्थ्य जटिलता देखिएको विवरण हालसम्म आएका छैनन् । तर, जाडोयाममा श्वासप्रश्वाससम्बन्धी अन्य समस्या पनि बढ्ने गरेका कारण सचेत रहनुपर्ने विशेषज्ञले बताइरहेका छन् ।

के छ सरकारी तयारी ?

कोरोना भाइरसको नयाँ सव–भेरिअन्ट भेटिएपछि मन्त्रालयले कोभिड महामारी नियन्त्रणका लागि अपनाएका जनस्वास्थ्यका मापदण्डलाई पुनः सुरु गर्ने जनाएको छ । 

‘हामीले पहिले महामारीका बेलामा अपनाएका सबै उपायहरू पुनः सक्रिय बनाउने निर्णय गरेका छौँ र त्यसै अनुसार काम भइरहेको छ,’ प्रवक्ता बुढाथोकीले भने, ‘ नेपालमा ९२ प्रतिशतले बुस्टर मात्रासहित खोप लगाइसकेकाले यो सव–भेरिअन्टले धेरै असर नपार्ने ठानिएको छ । तर, जनस्वास्थ्यका मापदण्ड अपनाएर संक्रमित हुनबाट जोगिनु नै उत्तम उपाय हुन्छ ।’

  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १९:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया