यु–१९ विश्वकपको उपाधि अष्ट्रेलियालाई, भारत ७९ रनले पराजित

यस वर्षको आइसिसी यु–१९ विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । भारतलाई ७९ रनले हराउँदै अष्ट्रेलियाले उपाधि हात पारेको हो । 

यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको अष्ट्रेलियाले १४ वर्षपछि यसपटकको उपाधि जित्यो । यो उसको चौथो जित हो । 

अष्ट्रेलियाको उत्कृष्ट बलिङसामु कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा २५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा अल आउट भयो ।

ओपनर आदर्श सिंहले ७७ बलमा ४ चौका र १ छक्कासहित ४७ रन र मुसिर खान २२ रनमा आउट भए । मुरुगन अभिषेकले ४६ बलमा ५ चौका र १ छक्कासहित ४२, कप्तान उदय सहारन ८, सचिन दास र प्रियान्शु मोलियाले ९–९ रन बनाए ।

अष्ट्रेलियाका माहली बियर्डम्यानले ७ ओभरमा २ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । राफ म्याकमिलनले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । कलुम विड्रलले २, चार्ल्स एन्डरसन र टम स्ट्रेकरले १–१ विकेट लिए ।

दक्षिण अफ्रिकाको विलोमुर पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा हर्जास सिंहले ६४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए ।



ओपनर ह्यारी डेक्सनले ५६ बलमा ३ चौका र १ छक्कासहित ४२ तथा कप्तान ह्युग वेबगेनले ६६ बलमा ५ चौकासहित ४८ रन बनाए । तल्लोक्रममा ओलिभर पीक ४३ बलमा २ चौका र १ छक्कासहित ४६ रनमा अविजित रहँदै महत्वपूर्ण ४६ रनमा नट आउट रहेका थिए ।

भारतका तीव्र गतिका बलर राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । नमान तिवारीले २, सौम्य पाण्डे र मुसिर खानले १–१ विकेट लिए ।



भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २ विकेट तथा अष्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका थिए । नेपाल भने समूह चरण हुँदै सुपर सिक्सबाट बाहिरिएको थियो ।

  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार २१:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया