नेपाललाई ओडिआई सिरिज ‘क्लिन स्विप’ गर्ने मौका, प्लेइङ-११ मा तीन परिवर्तनको सम्भावना
फाइल तस्बिर

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । यी दुई टिमबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः१५ देखि सुरु हुनेछ । 

सिरिज नेपालले एक खेल अगावै जितिसकेको छ । नेपालले पहिलो र दोस्रो खेल क्रमशः ७ रन तथा ४ विकेटले जित्यो । नेपाल अब तेस्रो खेलमा पनि जित हात पार्दै सिरिज ३–० ले ‘क्लिन स्विप’ गर्न चाहन्छ । 

यता पाहुना टोली क्यानडा भने अन्तिम खेलमा जित निकालेर नेपाल भ्रमणको सुखद अन्त्य गर्ने सोचमा छ । जारी श्रृंखलामा जित हात नपारे पनि क्यानडाले नेपाललाई कडा टक्कर भने दिइरहेको छ । उसले पहिलो खेलमा नेपाललाई २ सय २४ रनमै अलआउट गर्दा लक्ष्य पछ्याउनेक्रममा २ सय १७ रन बनायो । यस्तै, दोस्रो खेलमा पहिला ब्याटिङ गर्दै क्यानडाले नेपाललाई २ सय ८६ रनको बलियो लक्ष्य दियो । 

यद्यपि यस खेलमा उसले बलिङमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन । क्यानडाको कमजोर बलिङको फाइदा उठाउँदै नेपालले २ सय ८६ रनको लक्ष्य ४५.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, यू–१९ कप्तान देव खनाल तथा ओपनर अनिल साहले अर्धशतकीय पारी खेले । यस खेलमा रोहितले १ सय १ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८७ रन बनाए । 



यस्तै, देवले ८१ बलमा ७ चौका र २ छक्काको मद्दतमा ७६ रनको इनिङ खेले । रोहित र देवबीच तेस्रो विकेटका लागि १६४ बलमा १५० रनको साझेदारी बन्यो । नेपालको तर्फबाट एकदिवसीयमा तेस्रो विकेटका लागि बनेको यो नै अहिलेसम्मको ठूलो साझेदारी हो । यस्तै, सिरिजको दोस्रो खेलमा अनिलले २० बलमा ७ चौका र ३ छक्कासहति ५० रनको आक्रामक पारी खेले ।

योसँगै उनी एकदिवसीयमा कम बलमा अर्धशतक बनाउने नेपाली ब्याटर बने । अनिलले १९ बलमै अर्धशतक बनाएका हुन् । तेस्रो खेलमा पनि नेपाल ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । 



सोमबार नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ । तेस्रो खेलमा नेपालले आसिफ शेख, भीम सार्की र रिजन ढकाललाई विश्राम दिएर कुशल भुर्तेल, आरिफ शेख र हेमन्त धामीलाई मौका दिने सम्भावना रहेको हो ।

कुशलले पहिलो खेलमा उत्कृष्ट ब्याटिङका बाबजुद दोस्रो खेलमा आराम पाए । उनी सोमबार आसिफको स्थानमा मौका पाउने सम्भावना छ । आसिफले विश्राम पाएमा अनिलले विकेटकीपिङ गर्नेछन् । यस्तै, पहिलो खेलमा आरिफले पनि ३८ रनको महत्वपूर्ण पारी खेलेका थिए । उनले सिरिजको अन्तिम खेलमा कमब्याक गर्ने सम्भावना बलियो छ । 

यता यही सिरिजमा डेब्यू गरेका बायाँ हाते तीव्र गतिका बलर रिजनले सिरिजको दुई खेलमा एक विकेट मात्र लिएका छन् । सोमबार उनको स्थान तीव्र गतिका बलर हेमन्तले लिने सम्भावना छ । यदि मौका पाएमा उनको यो डेब्यू खेल हुनेछ । 

तेस्रो खेलमा नेपालको सम्भावित प्लेइङ–११ : अनिल साह (विकेटकिपर), कुशल भुर्तेल, रोहितकुमार पौडेल (कप्तान), देव खनाल, कुशल मल्ल, पवन सर्राफ, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र हेमन्त धामी ।    

  • प्रकाशित मिति : माघ २९, २०८० साेमबार ६:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया