राप्रपाको चेतावनी- हाम्रो आन्दोलन व्यवस्था परिवर्तनको हो, ख्यालठट्टा नसोच्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपनेता बुद्धिमान तामाङले पार्टीले बुधवारबाट सुरु गर्ने देशव्यापी आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएको बताए । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले राप्रपाको आन्दोलन व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन भएकाले यसलाई ख्यालठट्टा नठान्न आग्रह गरे । उनले अन्य बेलाको जस्तो सरकार र सत्ता परिवर्तन, महँगी नियन्त्रण जस्तो आन्दोलन नभएको बताए । उनले पार्टीको आन्दोलन शान्तिपूर्ण र भद्र आन्दोलन भएकाले सबैले सोहीअनुसार आफ्ना कार्यक्रम अघि बढाउन आग्रह गरे । 

उनले भने, ‘यो आन्दोलन सामान्य ख्याल ठट्टाको आन्दोलन होइन । यो सरकार परिवर्तन गर्ने, महँगीको विरोध गर्ने, केके विरोध गर्ने होइन । हामीले व्यवस्था र अवस्था परिवर्तन गर्ने आन्दोलन हो । सबैले यसमा सोचेर अघि बढ्नुपर्छ । यो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो । हामी भद्र आन्दोलन गर्ने हो ।’

पार्टीका सांसद धवल समशेर जबराले राज्य पूर्णरुपले असफल भइसकेकाले व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्न लागेको बताए । उनले व्यवस्था र व्यवस्था चलाउने पात्रहरूलाई परिवर्तन गर्नको लागि आन्दोलन गरेकाले सोहीअनुसार आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरे ।

उनले भने, ‘यस्तो बेलामा अहिले हामीले आन्दोलन गरेनौँ भने कहिले गर्ने आन्दोलन आन्दोलन अहिले सफल भएन भने कहिले होला सफल । राज्य पूर्णरुपले असफल भइसक्यो । यो राज्य चलाउने, यो व्यवस्था र व्यवस्था चलाउने पात्रहरूलाई परिवर्तन गर्नको लागि यो आन्दोलन हो । यो आन्दोलन हाम्रा लक्ष्य पाएपछि मात्रै रोकिन्छ । हाम्रो विचारधारामा मिल्ने पार्टी, समूह, अभियन्ता सबैलाई समेटेर अघि बढाउनेछौँ ।’

सांसद जबराले आन्दोलन आफूहरूका लक्ष्य प्राप्ति भएपछि मात्रै रोकिने दाबी गरे । उनले पार्टीसँग विचारधारा मिल्ने पार्टी, समूह, अभियन्तालाई समेटेर आन्दोलन अघि बढाउने बताए ।  





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार १५:५१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया