प्राथमिक तह शिक्षक छनोटको लिखित परीक्षामा मागभन्दा ६ सय ८३ कम परीक्षार्थी उत्तीर्ण
माग संख्या : ७९५४, उत्तीर्ण संख्या : ७२७१

शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको शिक्षक छनोटको लिखित परीक्षामा आवश्यकताभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२०७९ चैतमा आयोगले काठमाडौंबाहेक ७६ जिल्लामा सात हजार नौ सय ५४ शिक्षक माग गरेको थियो । आयोगले गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन गरेको थियो । 

१३ असोजमा लिएको विषयगत परीक्षाको नतिजा सार्वजनिक गर्दा सात हजार दुई सय ७१ जना प्रतियोगी मात्रै छनोट भएका छन् । यो संख्या मागभन्दा ६ सय ८३ कम हो ।

७६ मध्ये ४३ जिल्लामा मात्र माग गरेअनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।  पछिल्लो नतिजाअनुसार  यसवर्ष मा माग गरेअनुसार शिक्षक पदपूर्ति नहुने भएको छ ।

कोशीमा इलाम र धनकुटामा मात्र माग संख्या अनुसार परीक्षार्थी उतीर्ण भएका छन् । बाँकी १२ जिल्लामा कम प्ररीक्षार्थी उतीर्ण भएका छन् । त्यसमध्ये सबैभन्दा बढी सोलुखुम्बुमा ७०, ओखलढुंगामा ५४, मोरङमा ३७ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।

मधेशमा सर्लाही, बारा, पर्सा र सप्तरीमा मात्र मागअनुसार शिक्षक उतीर्ण भएका छन् । लिखित परीक्षामा माग गरेभन्दा धनुषामा ४०, सिरहामा १५, महोत्तरीमा २५ र रौतहटको १३ जना कम परीक्षार्थी उतीर्ण भएका छन् ।



बागमतीका काठमाडौंबाहेकका जिल्लामा कुल एक हजार ३३२ शिक्षक माग गरेकामा १५३ जना कम परीक्षार्थीले मात्र लिखित परीक्षामा नाम निकालेका छन् ।

दोलखामा १८, नुवाकोटमा ११, काभ्रेपलाञ्चोकमा ४०, चितवनमा ३ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् । सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुरमा मात्र माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।



गण्डकीमा बाग्लुङ, तनहुँ, गोरखा, नवलपरासी, लमजुङ र मुस्ताङमा माग अनुसार परीक्षार्थी पास भएका छन् । कास्कीमा २५ र पर्वतमा १८ जना कम परीक्षार्थी अन्तर्वार्ताका लागि छनोट भएका छन् ।

लुम्बिनीमा अर्घाखाँचीमा ११, पाल्पामा ४, रुकुमपूर्वमा १७ जना कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।

कर्णालीमा सुर्खेतबाहेक अन्य जिल्लाले माग अनुसार शिक्षक पाउने देखिएको छ । सुर्खेतमा ६९ जना माग भएकामा ६३ जना उतीर्ण भएका छन् ।

सुदूरपश्चिमको बाजुरामा १८ र डडेलधुरामा १ जना कम परीक्षार्थी उतीर्ण भएका छन् । अरु जिल्लामा भने माग अनुसार परीक्षार्थी उतीर्ण भएका छन् ।

उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता २० फागुनदेखि जिल्ला शिक्षा समन्वय इकाइमा हुनेछ ।

  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार २२:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया