युक्रेन आक्रमणको आलोचना गरेकोमा रुसी पत्रकारलाई ७ वर्ष जेल सजाय

रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ ।   

५१ वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइएको र उनलाई मस्कोको कडा सैन्य सेन्सरसिप कानूनअन्तर्गत दण्डित गरिएको हो । मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानुनहरूको प्रयोग गरेको छ । 

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भने, ‘शान्ति र स्वतन्त्रता ।’ उनका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, ‘हामी तपाईँसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।’ 

सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गरेका थिए । उनलाई गत वर्ष पक्राउ गरिएको थियो । इभानोभलेले आफू निर्दोष रहेको बताउँदै आएका थिए । 

‘रुसमा पत्रकारिता अब अवस्थित छैन’, पछिल्लो सुनुवाइमा अदालतलाई दिएको अन्तिम बयानमा इभानोभले भनेका थिए, ‘हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।’ 



इभानोभ एउटा स्थानीय सरकारी टीभी च्यानलमा काम गर्दथे । तर, सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उनलाई बर्खास्त गरिएको थियो ।  

बुधबारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उनको रिपोर्टिङको प्रतिशोधका रूपमा इभानोभलेविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताइन् । ‘उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो’, अल्ला इभानोभाले भनिन्, ‘म लड्न जारी राख्नेछु ।’ 



  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार ६:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया