काठमाडौं महानगरमा ११० कुष्ठरोगी फेला
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाभित्र कुष्ठरोगका १ सय १० बिरामी फेला परेका छन् । स्वास्थ्य सेवा विभाग, इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्यमा गरेको अध्ययनमा आव २०७९–८० मा महानगरभित्र मात्र १ सय १० कुष्ठरोगका बिरामी फेला पारेका हुन् ।

महानगरभित्र कुष्ठरोगका बिरामी फेला पारेपछि गैरसरकारी संस्था एनएलआर नेपालले महानगर र स्वास्थ्य सेवा विभागअन्तर्गत शाखाको सहकार्यमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेवकलाई ‘कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता समावेशी सम्बन्धी’ क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उक्त कार्यक्रममा यससम्बन्धी पाठ्यक्रम निर्माण गरी कुष्ठरोग के हो ? कुष्ठरोगले मानिसलाई कसरी अपाङ्गता बनाउँछ ? निदान कसरी गर्न सकिन्छ ? यो रोग लागिहालेमा कसरी औषधि सेवन गर्नेलगायत जानकारी दिइने एनएलआर नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले जानकारी दिए । कुष्ठरोग समयमै पहिचान गर्नसके औषधि सेवनबाट निको हुने उनको भनाइ छ ।  

संस्थाले बिहीबार काठमाडौं महानगरपालिका–२६ मा उक्त कार्यक्रम सञ्चालन गरेको थियो । ‘कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने, ज्यादै कम सर्ने रोग हो । उपचार नगरेका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासका माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ’, निर्देशक सिंहले भने । 

एनएलआरले हालसम्म कामपा–१०, ११, २६, २९ र ३१ का जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई यससम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिसकेको छ । आगामी दिनमा वडा नं ६, ७, ८, ९ र १७ वडामा उक्त कार्यक्रम सञ्चालन गरिने सिंहले बताउनुभयो । 

कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा. प्रशन्न नापितले आव २०७९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका जानकारी दिए । उनका अनुसार नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा ९ सय ४४ रहेका छन् ।



काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य कुष्ठरोगको बारेमा जनचेतना जगाउने र समुदायमा रहेको भ्रम हटाइ सामाजिक लाञ्छनाको गलत धारणा परिवर्तन गर्नु रहेको मुख्य प्रशिक्षक गोपाहरि पोखरेलले बताए । 

एनएलआरले पहिलो चरणमा काठमाडौंका विभिन्न १० वडाका तीन सयभन्दा बढी जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिने जनाएको छ । रासस   



  • प्रकाशित मिति : फागुन २५, २०८० शुक्रबार १५:३७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया