एमालेको आरोप : कांग्रेस रास्वपाको नेतृत्वमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छ
एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, फाइल तस्बिर

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् ।

आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाएका हुन् ।  

‘सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जो–जो जहाँ–जहाँ जसरी संलग्नता छ । दोषका प्रकृतिका आधारबाट कानूनी कारबाही हुन्छ । प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ,’ बर्तौलाले भने, ‘हामीले सरकारलाई संसदमार्फत ध्यानाकर्षण गराएका छाैँ । उजागर गरेका विषयहरू कहीँ थन्क्याउने होइन, कोही पनि मान्छे उम्किने अवस्था रहँदैन । कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन हुँदैन । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्नेकुरा किमार्थ हुँदैन । सरकारको यो पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’  

उनले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताए । प्रमुख सचेतक बर्तौलाले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको  आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । उनले आयोगको प्रतिवेदन सांसदलाई बुझाउन पनि सरकारसँग आग्रह गरे ।  

फाइल तस्बिर



‘रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ की छानबिन सबै तहबाट होस् । यसलाई राजनीतिक ढंगबाट अहिले रास्वपाको नेतृत्व कर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ । रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ,’ बर्तौलाले भने, ‘अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा उहाँलाई कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुन्छ भन्ने सोच्नु हुँदैन । यो सरकारलाई उहाँहरूले २८ दिनको म्याद दिनुभएको छ ।’ 

उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको बताए ।  



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १४:२९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया