कांग्रेसको सरकार बन्न नदिन सरकारमा गयाैँ : माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले विश्वासको मत नपाउने र कांग्रेसको सरकार बन्ने अवस्था आएपछि सरकारमा गएकाे बताएका छन् । आफूहरूविना नयाँ समीकरणमा बहुमत नपुग्ने भएपछि सरकारमा गएकाे उनकाे भनाइ छ ।

अन्तर पार्टी निर्देशन–१३ जारी गर्दै पार्टी अध्यक्ष नेपालले कांग्रेसको सरकार बन्न सक्ने र एमालेले समेत आफूहरूको अस्तित्व स्विकार्ने स्थिति आएपछि सरकारमा गएको उल्लेख गरेका हुन् ।

अध्यक्ष नेपालले अपानिमा भनेका छन्, ‘प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाएको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको सरकार बन्ने र त्यसबाट पनि राजनीतिक स्थिरताको प्रत्याभूति नहुने, अर्कोतिर हाम्रो अस्तित्वलाई स्विकार नगरेको नेकपा एमालेसमेतको नयाँ समीकरणले हामीलाई सरकारमा सहभागी हुन आग्रह गरेको र सरकार सञ्चालनका नीति तथा कार्यक्रमहरूमा हाम्रो पार्टीलाई समानरुपले सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेपछि पार्टी सचिवालयले त्यसप्रति सकारात्मक हुँदै वार्ता गर्ने निर्णय गर्‍यो ।’

‘वार्ताका क्रममा हामीले उठाएका राष्ट्रिय महत्वका विषयमा छलफल गर्दा प्रधानमन्त्रीले सहमति जनाएपछि पार्टीले सरकारमा दुईजना मन्त्री पठाएको छ,'समाजवादीको निर्देशनमा उल्लेख छ, 'साथै, यस नयाँ समीकरणको सरकारका नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रम’ तयार गर्ने कार्यदलमा पार्टीका तर्फबाट उपाध्यक्ष कमरेड प्रमेश हमाल र महासचिव कमरेड घनश्याम भुसाललाई पठाएको छ ।’

नयाँ समीकरणमा चार दलबीच पहिले सहमति जुटेपछि मात्रै समाजवादी पछि जोडिएको सो पार्टीले जनाएको छ ।

फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलगायतका दलहरूसँग नयाँ सत्ता समीकरण बनाएपछि मुलुकको तत्कालीक राजनीतिक परिस्थिति अचानक बदलिएको छ ।





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १८:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया