जनमत पार्टीले तोकिएको कार्य पूरा नगर्ने केन्द्रीय सदस्यलाई कारबाही गर्ने

जनमत पार्टीले तोकिएको कार्य पूरा नगर्ने केन्द्रीय सदस्यलाई कारबाही गर्ने भएको छ । शनिबार र आइतबार पर्साको वीरगन्जमा पार्टी अध्यक्ष सिके राउतको अध्यक्षतामा बसेको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ ।

हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकलाई तोकिएको कार्य पूरा गरे–नगरेको मूल्यांकन गरेर आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राख्ने वा नराख्ने वा अन्य जिम्मेवारी दिने निर्णय गरिएको छ । संगठन विस्तारका लागि सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भ्रातृ संगठनहरूको गठनमा जोड दिनेसहितका निर्णय गरेको छ । यसैगरी आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय भएको छ ।

केन्द्रीय समितिमा पेस भएको ‘आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ दृष्टिकोण तथा ‘दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्र’को लडाइँु शीर्षकको राजनीतिक प्रस्ताव पनि पारित गरिएको छ । बैठकले आगामी जेठ १५ गते काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी गर्ने निर्णय गरेको छ ।

यसैगरी सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमसहित सशक्त आन्दोलनका लागि युवा दस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरेको छ । बैठकले कोसीमा चलिरहेको पहिचान आन्दोलनको मर्म बमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ ।

बैठकले मधेस–थरुहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन पनि नेतृत्व गर्ने निर्णय गरेको छ । प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानन चाँडै निर्माण गराउन पहल गर्ने निर्णय भएको छ ।

यसैगरी आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय भएको छ । जनमतले आगामी रोपाइँयामका लागि मलखाद र बीउबिजनको समयमै सहज उपलब्धताका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ ।



यसैगरी, मधेसमा गर्मीयाममा हुने गरेको खानेपानीको अभावको समस्यासँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने निर्णय गरिएको छ ।



  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार २१:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया