‘चालकको लापरबाहीले दुर्घटना भयो, साथीले उद्धार नगरेको भए त्यहीँ मर्थे होला’

‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो । साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो’, धौलागिरि अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए । 

उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । ‘रुकुम र बागलुङको सीमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुँइकिएपछि मैले  सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ’, उनले भने, ‘पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनुभन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।’  

घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उनी अन्य घाइतेसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइते पीडाले कराइरहेका छन् भने कही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरूको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ । 

रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौंका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए । 

‘केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हामफाल्ने प्रयास गरेका थिए । तर गाडी सडकबाट तल खसिहाल्यो’, नेपालीले भने । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले सुनाए । ‘केही बेरपछि होस आउँदा वरिपरी यात्रुका शव र घाइते मात्रै थिए । एकैछिन हातै चलेन । जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ,’ नेपालीले भने । 
    
उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि राति नै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लोपट्टि बसेको धेरैको मृत्यु भएको छ ।



दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उनले पनि चालकको लापरबाहीले दुर्घटना भएको बताए । 

‘म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हामफाल्न ढोकासम्म पुगेको थिए । तर, ढोका खोल्न नपाउँदै बस खस्यो’, उनले भने । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । ‘म होसमा आउँदा शरीर रुखले च्यापिएको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थे होला’, केसीले भने । उनका अनुसार होसमा आउँदा केही कान्लामा अड्किएका थिए त केही घाइते चिच्चाइरहेका थिए । 



दुर्घटनामा परी घाइते भएकाले धौलागिरि अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताइन् । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको भण्डारीको भनाइ छ । पोखरा पठाइएका घाइतेको अवस्था भने गम्भीर रहेको भण्डारीले बताइन् । 

बागमती प्रदेश ०१–००६ ख ३८७९ बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट-१ का २७ वर्षिया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुभाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका-५ रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । 

बस सडकदेखि अन्दाजी एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो । 

मृत्यु हुने अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी सोमबार राति नै रुकुम पठाइएको उनको भनाइ छ । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बसमा ३७ जना यात्रु सवार थिए । रासस  

  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार १३:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया