राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताएका छन् ।
मुस्लिम आयोगको पाँचौँ वार्षिक स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली समाजको उदार चरित्र विश्वले अनुकरण गर्ने खालको रहेको भन्दै यसको संरक्षण आजको आवश्यकता भएको बताएका हुन् ।
उनले भने, ‘मैले अस्ति हिन्दुहरूको पवित्र मन्दिर जलेश्वर महादेवको दर्शन गरँे । हिजो बौद्ध धर्मावलम्वीहरूको पवित्र मन्दिर स्वयम्भूनाथको दर्शन गर्न गएँ र आज मुस्लिम समुदायबीच आएको छु । नेपाली समाज कति सहिष्णु, कति सद्भावपूर्ण र प्रजातान्त्रिक उदारतापूर्ण छ भन्ने यो दृष्टान्त विश्वले अनुकरण गर्ने खालको छ ।’
राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भए मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।
समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानुनी व्यवस्था गर्ने तथा तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीतिगत र कानुनी प्रयास गरिनु आवश्यक छ भन्ने मैले ठानेको छु ।’
नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरूमध्ये एक रहेको उनको भनाइ थियो । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वद्र्धन तथा सशक्तीकरणका माध्यमबाट सिंगो मुस्लिम समुदायको बृहत्तर विकासको लागि नेपालको संविधानमा मुस्लिम आयोगको व्यवस्था गरिएको पौडेलले उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।