‘विकास त आयो, तर मर्ने बेलामा हरियो काँक्रो भनेझैँ’

चिटिक्क परेका ढुंगे घर । फराकिला आँगन । गाउँको बीचैमा सुविधासम्पन्न मोटरबाटो । गाउँकै मुनि पायक परेको धानखेत । माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय । स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट । झट्ट हेर्दा लोभलाग्दो देखिने म्याग्दीको धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ । 

डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुई–तीन दिन पैदलयात्रा गर्नुपथ्र्यो । एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपथ्र्यो । 

अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर, गाउँमा युवा छैनन् । अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन् । 

‘डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौँ,’ धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भने, ‘हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो, तर यो मर्ने बेलामा हरियो काँक्रोजस्तो मात्र भयो ।’

गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ । गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ । अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन् । तर, गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन । 

गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताए । गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उनको अनुभव छ । सुविधाका हिसाबले गाउँ र सहरमा खासै फरक छैन । डेढदशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । 



‘सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन्,’ वडासदस्य बुढाले भने, ‘तर त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने वर्ग गाउँमा छैन ।’ यस्तो अवस्था मुना गाउँको मात्रै होइन । जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ । एक लाख १४ हजार जनसंख्या रहेको म्याग्दीमा साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जाबाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ । 

विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा  परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । 



विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन् । मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरु अवैध बाटो भएर अमेरिका पुगेका छन् ।     

सहरमा झैँ गाउँमा विकास पुगेपनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । 

  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १९:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया