नयाँ गठबन्धनपछि सरकारको प्रगति : रुसका लागि पुनः खुलायो श्रम स्वीकृति

म्यानपावर व्यवसायीको दबाबपछि सरकारले रोजगारीका लागि नेपालबाट रुसमा जान पाउने प्रावधान लागू गरेको छ । यसअघि रुस–युक्रेन युद्धमा नेपालीहरूको पनि संलग्नता देखिएपछि सरकारले सुरक्षाको कारण देखाउँदै नेपालीहरूलाई रोजगारीका लागि रोक लगाउने निर्णय गरेको थियो । 

रुसका कतिपय क्षेत्र सुरक्षित रहे पनि कतिपय क्षेत्र सुरक्षाका दृष्टिले उच्च जोखिममा छन् । दुई महिनाअघिको सो निर्णय फिर्ता लिँदै सरकारले मंगलबारबाट रुसका जुनसुकै क्षेत्रमा काम गर्न जान दिने गरी श्रम स्वीकृति खुला गरेको हो । 

सरकारले गत १९ पुसमा रुस र युक्रेनमा सबैखाले श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । म्यानपावरहरूको दबाबका कारण सरकारले श्रम स्वीकृति खुला गरेको हो । यसअघि नेपाली नागरिक रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न भन्दै श्रम स्वीकृति स्थगन गरिएको थियो । तर, रुस–युक्रेन युद्ध जारी रहेकै अवस्थामा सरकारले रोजगारीका लागि पुनः अनुमति दिएको हो । 

यसअघि सरकारले फागुनको दोस्रो साता यसअघि रुसमा काम गरेर फर्केका नेपालीका लागि पुनः श्रममा जान दिन स्वीकृति खुला गरेको थियो । त्यसको १५ दिनपछि सरकारले संस्थागततर्फको श्रम स्वीकृति खुला गरेको छ । व्यक्तिगत रुपमा जाने श्रम स्वीकृति भने अझै खुला गरिएको छैन ।

संस्थागत रुपमा श्रम स्वीकृति लिएकाहरु कोही पनि रुसी सेनामा भर्ना भएको नदेखिएको भन्दै सरकारले श्रम स्वीकृति खोलेको हो । श्रम स्वीकृति लिएर रुस गएकाहरूमाथि अध्ययन गर्दा कोही पनि सेनामा भर्ती भएको नदेखिएको वैदेशिक रोजगार विभागले जनाएको छ । रुसमा काम गरिरहेका आप्रवासी नेपालीहरूलाई समस्या परेको भन्दै सरकारले पुनः श्रम स्वीकृति खोलेको हो । 

पछिल्लो १८ महिनामा नेपालबाट श्रम स्वीकृति लिएर रुस जानेको संख्या ७७२ छ । गत आर्थिक वर्ष मा ३८६ जना रोजगारीका लागि रुस गएका थिए भने बाँकी संख्या चालू आर्थिक वर्षको पाँच महिनाको हो । साउन, भदौ, असोज, कात्तिकमा र मंसिरमा श्रम स्वीकृति लिएर नेपालीहरू रुस गएका थिए । पुस, माघ र फागुनमा भने केही पनि नेपाली रोजगारीका लागि रुस गएको छैन ।



नेपालबाट सीधै रुस नगए पनि दुबई, कतार, मलेसियालगायत देशमा रोजगारीमा गएका नेपालीहरू त्यतैबाट रुस गएको हुन सक्ने देखिन्छ । रुसी सेनामा भर्ती भएका अधिकांश नेपाली संगठित मानव तस्करको सहयोगमा खाडी मुलुक हुँदै त्यहाँ पुगेको देखिएको छ ।  

यसअघि गत मंसिरमा प्रहरीले यस्तो गिरोहमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । हालसम्म रुसी सेनामा भर्ना भएका ३२ जना नेपालीको मृत्यु भइसकेको छ । तर, सरकारको तथ्यांकले भने रुसी सेनामा कार्यरतमध्ये १७ जना नेपालीको मृत्यु भएको देखाउँछ । 



  • प्रकाशित मिति : चैत १३, २०८० मंगलबार २१:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया