हरेक महिना हात्तीबाट ज्यान गुमाइरहेका छन् झापावासी, त्रासमा स्थानीय
फाइल तस्बिर

दैनिकजसो हुल बाँधेर आउने जंगली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापावासी चिन्तित बनेका छन् । चालू आर्थिक वर्षको मंसिरदेखि चैत १७ गतेसम्म जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।

हात्तीले जंगलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरूलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयका प्रमुख मेघराज राईका अनुसार यही साता मात्र जंगली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । गत शुक्रबार राति कमल गाउँपालिका–५ की ५८ वर्षीया खड्गमाया माबो, र बुधबार साँझ शिवसताक्षी–११ का ६० वर्षीया पवित्रा भेटुवालको हात्तीको आक्रमणम मृत्यु भएको उनले जानकारी दिए ।

एक सातामै छिमेकी पालिकाका दुई महिलाको मृत्यु भएपछि स्थानीयवासी त्रासमा छन् । हात्तीले कुन बेला कसलाई आक्रमण गर्ने हो भनेर रातभर निदाउन नसकिरहेको कमल–५ की ७० वर्षीया रुमा सुब्बाले बताइन् । 

जिल्लाका १५ वटै पालिका हात्ती प्रभावित क्षेत्रमा पर्छ । जसमध्ये यस अवधिमा दमक नगरपालिकामा एक जना, शिवसताक्षीमा दुई जना, हल्दिबारीमा दुई जना र कमल गाउँपालिकामा एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो समय झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका २९ वटा जंगली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन त्रस्त बनेको छ । हाल तीन जिल्लामा ६० वटाभन्दा बढी जंगली हात्ती रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार ११:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया