logo-img

कांग्रेसको प्रश्न- रुसी सेनामा गएका नेपालीबारे सरकार किन बेखबर ?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन कुनै पहल नगरेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार रुसमा रहेका नेपालीहरूको अवस्थाको बारेमा बेखबर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । 

उनले भने, ‘नेपालीहरू रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरू कति सङ्ख्यामा छन्, उनीहरूको अवस्थाको बारेमा सरकार बेखबर मात्र होइन जान्ने प्रयास पनि गरेको छैन । सरकारले अलपत्र परेका नेपालीहरूको उद्धार गर्ने कुरा त पर जाओस् कति सङ्ख्या छन् भन्ने पनि पत्ता लगाउन सकेको छैन । सरकारको तर्फबाट हुनुपर्ने पहल हुन सकेको छैन । यसमा गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । यस्तो अवस्थामा रुसमा जान प्रतिबन्ध लगाउनुपर्ने ठाउँमा श्रम मन्त्रालयले रुस जान श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।’ 

यसको साथै उनले काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको भन्दै राज्यले यसको लागि आवश्यक कानुन, नीति, लगानी गर्ने व्यवस्था गर्नुपर्ने बताए ।  



उनले भने, ‘काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादन गरेर रिफिल गर्ने कामको परीक्षण सफलतापूर्वक गरेको छ । नेपालमा कुनै कुरा उत्पादन हुनु आफैमा एउटा ठूलो विषय हो, त्यसमाथि यो ग्रिन हाइड्रोजन भनेको क्लिन ग्रिन इनर्जी हो । जुन अहिलेको अवस्थामा निकै महत्वपूर्ण छ । ठूलो उपलब्धी हो । एउटा विश्व विद्यालयको अनुसन्धानले सफलतापूर्वक परीक्षण गरेको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएर यसको लागि आवश्यक पर्ने कानुन, नीति, लगानी गर्ने व्यवस्था गर्नुपर्छ ।’ 

आयात गर्ने फ्युलको विकल्प ग्रिन हाइड्रोजन बन्न सक्यो भने नेपालले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने भन्दै नेपाल यस विषयमा आत्मनिर्भर हुन सक्यो र उत्पादन अन्तर्राष्ट्रिय बजारमा लान सक्यो भने नेपाललाई ठूलो लाभ हुने पनि उनको भनाई छ ।





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १३:४२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया