logo-img

पलेसा र कविराज वर्षका उत्कृष्ट

छनोट चरण पार गर्दै पेरिस पाराओलम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् । 

नेपाल तेक्वान्दो संघले आठौँ वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो । शनिबार चितवनको सौराहामा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । 

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका हुन् ।



ताइवानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्णपदक जित्दै पलेसा पेरिस पाराओलम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पाराओलम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कांस्यपदक जितेकी थिइन् । 

यसअघि सन् २०२० मा भएको टोकियो पाराओलम्पिकमा पलेसाले दुई खेल जितेकी थिइन् । ओलम्पिकमा दुई खेल जित्ने पलेसा पहिलो नेपाली खेलाडी पनि हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।



यसैगरी, रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित  भए । उनलाई नगद १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । 

यस्तै, उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र बागमती प्रदेशलाई नगद २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।



यसैगरी एनटिए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो ।

यस्तै, एनटिए प्रेसिडेन्ट अवार्ड नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द र केन्द्रीय सदस्य राम गिरीलाई प्रदान गरिएको थियो । संघका केन्द्रीय सदस्य एवं प्रवक्ता साम्राज्यविक्रम पाण्डे, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरी र मधेस प्रदेश तेक्वान्दो संघ प्रशंसापत्रबाट सम्मानित भए ।

  • प्रकाशित मिति : वैशाख ८, २०८१ शनिबार २१:११:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया