फेरिएका उत्तर कोरियाली नेता किम जङ–उन

उत्तर कोरिया । नाम सुन्ने वित्तिकै हाम्रो स्मरणमा आउँछ, त्यहाँका नेता किम जङ–उनको तस्वीर पनि । अहिले पनि किमलाई पश्चिमा देशहरु तानाशाह भनिरहेका हुन्छन् ।

तर, विस्तारै किम फेरिन थालेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका उनका दुई भेटले विश्वमा नै तरंग ल्याएका थिए । 

अब पनि उनी फेरिन थालेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा समाचार बन्न थालेको छ ।

उत्तर कोरियाका सरकारी मिडियाहरुले पनि अब किमले विश्वका अन्य देशसँग कूटनीतिक सम्बन्ध बढाउन थालेको बताएका छन् । उत्तर कोरियाले अब दक्षिण कोरियासँगको सम्बन्धमा पनि नयाँ विकास र परिवर्तन गर्न खोजेको बताइएको छ ।

अहिले अमेरिकामा नयाँ राष्ट्रपति चुनिए लगत्तै किमले यसपटक पार्टी मिटिङ पनि गरेका थिए । त्यहाँको सत्तारुढ वर्कर्स पार्टीको आठौं बैठक यस्तो समयमा भएको हो जतिबेला अमेरिकाको प्रतिबन्ध खुकुलो हुँदा उत्तर कोयरियाको परमाणु तथा मिसाइल कार्यक्रम बन्द गर्ने विषयमा भइरहेको वार्ता रोकिएको थियो ।



उत्तर कोरियाको सरकारी मिडिया केसिएनएले यो मिटिङको तेस्रो दिन अर्थात् आइतबार किम जङ–उनले बैठकमा नै दक्षिण कोरियासँगको सम्बन्धमा परिवर्तन गर्ने विषयमा चर्चा गरेका थिए । उनले उत्तर कोरियाली विदेश नीतिमा अब परिवर्तन गर्नु पर्ने विषयमा बोलेको त्यहाँका मिडियाहरुले जनाएका छन् ।

केसिएनएका अनुसार उनको पार्टीले अब विदेशी देशहरुसँग सम्बन्ध बढाउने तथा विकसित गर्ने विषयमा नयाँ विदेश नीति बनाउने भएकोक छ । 



अर्कोतिर, अब अमेरिकाका राष्ट्रपति जो बाइडेनले यो विषयलाई कसरी अगाडि बढाउँछन् भन्ने विषयमा पनि चर्चा हुने भएको छ । सन् २०१९ मा भएको डोनाल्ड ट्रम्प र किमको वार्ता कुनै पनि विषयमा सम्झौतामा पुग्न सकेको थिएन । त्यसपछि रोकिएको यो वार्तालाई अमेरिकाले कसरी अगाडि बढाउने भन्ने अब किमको नीतिले फरक पार्ने भएको छ ।

समाचार एजेन्सी रोयटर्सले सोलमा उत्तर कोरियाली अध्ययन विश्वविद्यालयका प्रोफेसर याङ मु–जिनसँग कुराकानी गरेको छ । याङले अहिले नै किमले दक्षिण कोरिया र अमेरिकासँगको सम्बन्धमा सुधार गर्न चाहेको बताएका छन् ।

‘बाइडेन सरकारसँग कस्तो सम्बन्ध बनाएर अगाडि बढ्ने भन्नेमा उनी अहिले विचार गरिरहेका हुनसक्छन्,’ याङले भनेका छन् । 

अर्कोतिर, किमले समाजवादी संस्कृति अभियानमा पनि एक नयाँ स्वर्ण युग सुरु गर्ने उद्घोष गरिसकेका छन् । र, उनले यी योजनाबारे अब सार्वजनिक जानकारी पनि गराउने योजना बनाएको हुनसक्ने अनुमान गरिएको छ । 

यो बैठक कहिले सकिन्छ भन्ने चाहिँ अहिले एकिन भइसकेको छैन । 

सन् २०१६ मा त्यहाँ पार्टी बैठक चार दिन चलेको थियो । उत्तर कोरियामा अहिलेसम्म यो पार्टीको सबैभन्दा लामो बैठक सन् १९७० मा भएको थियो । त्यति बेला १२ दिनसम्म बैठक चलेको थियो ।


  • प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार १७:१४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया