कोरोनासंकटपछि वीरेन्द्रनगरमा देखिएको फुटबल क्रेज
वीरेन्द्रनगर–८ स्थित रंगशालामा सोमबार भइरहेको वडा नम्बर ९ र १० को खेल प्रतियोगिता । तस्बिर : वसन्त भण्डारी/फरकधार ।

रंगशालाको बाहिरी भाग सवारी पार्किङले भरिँदै थियो । मानिसहरू ओहोर–दोहोर गरिरहेका थिए । दिउँसोको ३ बज्न बाँकी नै थियो । वीरेन्द्रनगरस्थित फुटबल रंगशाला दर्शकले खचाखच भरिसकेको थियो ।

नारी दिवसको अवसरमा बिदा भएका कारणले पनि हुन सक्छ मानिसहरूको ठूलो भिड थियो । फागुनमा बढ्दै गरेको गर्मीलाई छल्दै खेलप्रेमीहरू उत्साह थप्दै थिए । फागुन १९ गतेबाट सुरु भएको प्रथम मेयर(उपमेयर कप फुटबल प्रतियोगिता हेर्नका लागि कर्णालीको राजधानी वीरेन्द्रनगरमा सबै क्षेत्रका मानिसहरूको सहभागिता बढ्दै थियो ।

सोमबार दिउँसो मात्रै जाजरकोटबाट काम विशेषले वीरेन्द्रनगर आएका ४९ वर्षीया प्रेमबहादुर नेपाली पनि खेल हेर्न पुगेका थिए । सोमबार अधिकांश सरकारी कार्यालय बन्द भएको जानकारी पाएपछि उनी बसपार्कबाट सिधै रंगशाला गएको बताउँछन् ।

मैदानको भित्तामा शीतलता खोज्दै खेलको मजा लिइरहेका नेपालीले भन्छन्, ‘यसरी खेल हेर्दा आफू १८, १९ वर्षको हुँदाका दिनहरू सम्झिन्छु । सानोमा हामी पनि यसरी नै जम्मा भएर भलिबल खेल्थ्यौँ । फुटबलको बारेमा धेरै त बुझेको छैन ।’ बालापन सम्झिँदै प्रेमले थपे, ‘त्यो समय यसरी खेल खेलिँदैन थियो । घरबाट लुकिलुकी खेल्न जान्थ्यौँ । घरको काम गर्न छाडेर खेल्न गएको भन्दा बुवा–आमा गाली गर्नु हुन्थ्यो ।’

‘त्यो समय खेल खेलरै ठूलो मान्छे बन्न सकिन्छ भन्ने थिएन । हामी त अर्काको देखासिकी मात्र गर्थ्यौं  । जिल्ला सदरमुकामतिर गएका साथीहरू बल लिएर आउँथ्ये, कहिल्यै कागज, कपडाको बल बनाएर खेल्यौँ’, उनले भने ।

खुला चौरमा यति धेरै मानिसको भिडमा बस्न पाउँदा छुट्टै आनन्द आएको उनीसँगै आएका नवराज पहाडीले बताए । ‘हाम्रो समयमा त यसरी खेल्न पाइँदैन थियो । विद्यालयमा बल नै थिएन । माओवादी जनयुद्धमा लागियो । अहिले अरूको खेलेको देखेर रहर लाग्छ ।’  



कोरोना भाइरसको माहामारी पछि पहिलो पटक वीरेन्द्रनगरमा नगरस्तरीय खेल प्रतियोगिता आयोजना गरिएको हो । जसमा विशेष गरी युवा पुस्ताहरूको उत्साहजनक सहभागिता रहेको छ ।

युवा पुस्ताहरूको उत्साहजनक सहभागिताले सुर्खेतमा फुटबलको क्रेज अझै बढ्ने सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनक रावल बताउँछन् । ‘लामो सयमको अन्तरालमा भएको खेलकुदमा खेल प्रेमीहरूको उत्साहजनक सहभागिता छ,’ उनले भने, ‘यसले हामीलाई हौसला प्रदान गरेको छ । यसलाई हामीले खेलकुदको पुनः सुरुवातको रूपमा लिएका छौँ ।’



साथै उनले वीरेन्द्रनगरमा खेलकुदका गतिविधिहरू बढ्दै जाने बताए । चैत्र ७ बाट सुर्खेत जिल्ला लिक फुटबल प्रतियोगिता आयोजना गरिने समेत जानकारी दिए । कर्णाली प्रदेश खेलकुदमा धेरै अघि बढ्न खोजे पनि पूर्वाधार अभावका कारण अन्य प्रदेशको तुलनामा केहीपछि परेको स्वीकार्दै उनले अब पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

वीरेन्द्रनगर नगरपालिको आर्थिक सहयोग तथा सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा मेयर कपका लागि पुरुषतर्फ १२ वटा वडाका १२ वटा टिम सहभागी भएका छन् भने महिला तर्फ तीनवटा टोली सहभागी भएका छन् । 

सोमबार भएको पुरुषतर्फ पहिलो सेमिफाइनलमा वीरेन्द्रनगर–९ ले वडा नम्बर १० लाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनल अन्तर्गत मंगलबार वडा नम्बर ४ र ७ बीच भएको खेलमा २-० वडा नं ४ विजयी भएको छ । 

वडा नं ४ र ९ बीच बुधबार ३ बजे फाइनल खेल हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ३३ हजार ३३३ रुपैयाँ, दोस्रो हुनेले २२ हजार २२२ रुपैयाँ नगद तथा ट्रफी प्राप्त गर्नेछन् । उपमेयरतर्फ प्रथम हुने महिला टिमलाई क्रमशस् २२ हजार २२२ रुपैयाँ, दोस्रो हुनेलाई ११ हजार १११ रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार ५५५ रुपैयाँ कप र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै हरेक दिन उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, प्रतियोगिताभर उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडीलाई समेत सम्मान गरिने बताइएको छ । प्रतियोगिता अन्तर्गत फाइनल खेल बुधबार हुनेछ ।

  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १५:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया