थ्री नेसन्स कपका ‘हिडन हिरो’
आविष्कार भन्छन् : खेलाडीलाई फिट राख्‍नु कठिन काम

नेपालले भर्खरै थ्री नेसन्स कपको उपाधि उचालेको छ । घरेलु मैदानमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्दाको खुसी वर्णन गर्न सकिँदैन। लामो समयको खडेरी तोडेको नेपाली फुटबलमा यसले आशाको सञ्चार गराएको छ।  यो उपाधिले लामो समय निराशाबीच गुज्रिएको नेपाली फुटबललाई उत्साहित बनाएको छ।

सन् १९८४ मा घरेलु मैदानमा दक्षिण एसियाली खेलकुद अन्र्तगत पुरुष फुटबलको उपाधि चुमेयता ३७ वर्षपछि नेपालले घरमै थ्री नेसन्स कप उचाल्न सक्यो। बंगलादेशविरुद्धको फाइनलमा गोल गर्ने अग्रपंक्तिका हिरो थिए सन्जोग राई र विशाल राई । नौ खेल लामो गोलको खडेरी तोड्ने क्रममा चम्किएका उनीहरु खेल प्रेमी नेपालीमाझ छाए।

उपाधि भिडन्तका लागि खेलाडीहरु मैदानमा उत्रिरहँदा उनीहरुलाई पर्दा पछाडिबाट अर्का हिरो थिए अगआविष्कार पुडासैनी। बंगलादेशविरुद्धको खेलमा खेलाडी र प्रशिक्षक सबैको नजरमा परे तर मैदानको कुनै कुनामा मेडिकल सामग्रीसहित बसेका डाक्टर आविष्कार पुडासैनीतर्फ कमैले ध्यान दिए।  

जब मैदानमा कुनै खेलाडी घाइते भएर छट्पटाउँथे तब उनी मेडिकल सामाग्री बोकेर दौडिहाल्थे। खेलाडीलाई स्वस्थ र फिट राखिरहन उनले गरेको मिहिनेतको सबैलाई याद हुँदैन। तर घाइते खेलाडीलाई चाँडो निको पार्न, खेल्न योग्य बनाउन र तन्दुरुस्त राखिरहने उनी पर्दा पछाडिका एकजना हिरो हुन्।

थ्री नेसन्स कपका क्रममा जब नेपाली खेलाडी घाइते भएर मैदानमा लड्थे तब उनी उपचारमा पुग्थे। नेपालले उपाधि भिडन्त गरिरहँदा घाइते खेलाडीलाई उपचारका लागि मैदानतिर दौडिँदै गर्दा टिभीमा कमेन्ट्री गरिरहेका सञ्जीव शिल्पकारले भने, ‘आविष्कार मैदानतिर दौडिए, आशा छ, उनले खेलाडीलाई तन्दुरुस्त राख्नेछन्।’ 



फिजियो थेरापिस्टको कथा 

भारतको बैंगलोरस्थित आचार्य इन्स्टिच्युट अफ हेल्थ साइन्सबाट सन् २०१६ मा आविष्कारले फिजियो थेरापीको पढाई पूरा गरे । बैंग्लोरमै पढ्दा पढ्दै स्थानीय फुटबल क्लबमा फिजियो थेरापिस्टका रुपमा इन्टर्न गरेका थिए । 



पढाई पूरा गरेर कामको पनि अनुभव सँगालेर २०१७ मा उनी नेपाल फर्किए । नेपाल फर्किएको दुई महिनापछि उनले थ्री स्टार क्लबमा फिजियो थेरापिस्टका रुपमा काम गरे । थ्री स्टारमा काम गरेको एक वर्षपछि उनले राष्ट्रिय टोलीमा कार्यभार सम्हाले ।

अनि थ्री नेसन्समा

यस वर्षको थ्री नेसन्स कपमा उनले खेलाडीलाई फिट राख्न पूरा मिहिनेत गरे। तीन देश सम्मिलित यो भिडन्तमा कोभिडका कारण लामो समय लकडाउन हुँदा शारीरिक अभ्यास गर्न नपाएका खेलाडीलाई फिट राखिरहन उनका लागि चुनौती थियो। 

तर यो चुनौतीमा उनी खरो उत्रिए, खेलाडीले पनि उनलाई निराश बनाएनन्। घरेलु भूमिमा उपाधिको खडेरी तोड्न सफल भए। 

‘खेलका क्रममा मैदानमा खेलाडीहरुलाई घाइते हुँदा या अन्य समस्या पर्दा तुरुन्तै प्राथमिक उपचार गर्नु मेरो कर्म हो’, उनले सुनाए, ‘खेलाडीलाई फिट राख्न सक्दो प्रयास गर्छु। शारीरिक र मानसिक दुवै हिसाबले उनीहरुलाई तन्दुरुस्त राख्न मिहिनेत गर्नुपर्छ।’

खेलाडीको उपचार कर्म र धर्म 

उनले खेलाडीको स्वास्थ्यको ख्याल गर्दै उनीहरुलाई तन्दुरुस्त राखिरहनु आफ्नो कर्म र धर्म ठानेका छन्। घरेलु मैदानमा कुनै प्रतियोगिता जितको आशा र आकांक्षा एकदमै बढी हुने उनी बताउँछन् । घरेलु मैदान र घरेलु दर्शकसामु खेलाडीले सकेसम्म उत्कृष्ट प्रदर्शन गरुन् भन्ने आशा सबैमा हुन्छ। त्यही आशालाई निराशामा परिणत हुन नदिने आफूले सक्दो मिहिनेत गर्ने उनले सुनाए।

घरेलु मैदानमा अधिकांश दर्शक नेपाली नै हुन्छन् । ‘खेलाडी परिवारका सदस्यदेखि खेल प्रेमीहरूको इच्छा र आकांक्षालाई ध्यानमा राखी सकेसम्म उत्कृष्ट प्रदर्शन गरुन् भन्ने चाहना हामीमा हुन्छ, एन्फा पनि त्यही चाहन्छ’, उनले सुनाए, ‘त्यहीकारण खेलाडीलाई सकेसम्म बढी ध्यान दिएर उत्कृष्ट वातावरण दिन कोसिस गरिरहन्छु।’

गोल नहुँदा तनाव

फुटबलमा हारजित या बराबरी भए पनि गोलले ठूलो अर्थ राख्छ। खेलाडीले गोल गर्न सकेनन् भने व्यवस्थापनदेखि सहयोगी कर्मचारीमा पनि दबाब पर्छ। झन् खेलाडीलाई मानसिक र शारीरिक रुपमा फिट राख्ने जिम्मेवारी बोकेका फिजियो थेरापिस्टमाथि अझै दबाब हुन्छ।

थ्री नेसन्स कपका दुई खेलमा नेपालले गोल नै गर्न सकेन। गोलको खडेरी नौ खेलसम्म लम्बिएको थियो। कीर्गिस्तान यू-२३ र बंगलादेशविरुद्धको खेलमा गोल नै नगरी नेपाल फाइनलमा पुगेको थियो।

नेपालको अग्र पंक्ति गोलमा चुकेपछि बंगलादेशविरुद्धको फाइनलमा खेलाडीलाई मानसिक र शारीरिक रुपमा फिट राख्नुपर्ने चुनौती आविष्कारमाथि थियो। त्यहीकारण फाइनलमा कुनै समस्या नआओस् भनेर उनले खेलाडीको डाइट प्लानदेखि शारीरिक र मानसिक स्वास्थ्यमा निकै ध्यान दिएका थिए । 

‘शारीरिक स्वास्थ्य सामान्यतः सबैको थाहा हुन्छ । सबै खेलाडीसँग ब्यक्तिगत रुपमा नजिक छु’, उनले भने, ‘उनीहरुले  घरायसी समस्यादेखि हरेक कुरा खुलेर सुनाउँछन्। त्यसले खेलाडीलाई मानसिक रुपमा पनि फिट राख्न उपयुक्त काउन्सिलिङ दिनुपर्ने हुन्छ, मैले त्यही नै गरेको छु।’

हरेक खेलाडीको स्वास्थ्य अवस्था र उनीहरुको उपचार फरक फरक हुन्छ । खानेकुरादेखि हरेक खेलाडीलाई आवश्यक थेरापी र उपचारमा पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ। त्यही अनुसार उनी खेलाडीलाई मैदानमा जानुअघि शतप्रतिशत फिट राख्न हरक्षण खटिरहेका हुन्छन्।

खेलाडीको खानपान, स्वास्थ्यसम्बन्धी सल्लाह र शारीरिक अभ्यास गराउने उनको काम हो । उनी खेलाडीसहित प्रशिक्षक र एन्फा पदाधिकारीसँग पनि उत्तिकै नजिक छन्। उनी खेलाडीको उपचार र काउन्सिलिङ मात्रै गर्दैनन्, उनीहरुका समस्या सम्बन्धित निकायलाई जानकारी पनि गराउँछन्। 

थ्री नेसन्स प्रतियोगितामा सहभागी खेलाडीलाई होटल सोल्टीमा राखिएको थियो। जहाँ टिम बाहिरका थेरापी विशेषज्ञहरुलाई पनि बोलाएर एन्फाले मसाजको व्यवस्था गरेको थियो । उक्त कामको नेतृत्व डाक्टर पुडासैनीले नै गरेका थिए। त्यहाँ हरेक खेलाडीलाई छुट्टा छुट्टै मसाज गरेर फिट राखिएको थियो । 

खेल हुने दिन र अन्य दिन खेलाडीको शारीरिक अभ्यास तालिका फरक हुन्छ । उनले त्यही अनुसार खेलाडीलाई तयार गर्दछन् । खेलाडीमा पनि शारीरिक अवस्था हेरेर उपचार गर्ने गरेको उनी बताउँछन् । 

खेलाडीलाई कस्तो थेरापी? 

खेल नहुने दिन सामान्य खानेकुरा र सामान्य शारीरिक कसरतमा ध्यान दिए हुन्छ। तर खेल हुने दिन प्री–म्याच सेसन हुन्छ। खेलाडीलाई मसाजसहित शारीरिक परीक्षण पनि गरिन्छ । मैदानमा चोटले सकेसम्म दुःख नदेओस् भनेर खेलाडी तयार गरिन्छ ।

खेल सकिएपछि चोटको रिकभरी सेसन र मसाज सेसनसहितमा खेलाडीलाई बढीभन्दा बढी आराम दिने गरिन्छ । ‘खेलाडीका लागि स्वास्थ्य निकै अपरिहार्य हो । यदि यसमा ध्यान दिइएन भने मैदानमा उत्रान गाह्रो हुन्छ’, उनले भने, ‘खेलाडीलाई स्वास्थ्य र फिट राखिरहनु हाम्रा लागि सबैभन्दा ठूलो चुनौती हो।’ 

लामो समय लकडाउनमा बसेका खेलाडीलाई थ्री नेसन्स कपका लागि पुनः मैदानमा उतार्न सजिलो थिएन । शारीरिक कसरतका लागि उनी सावधान थिए तर केही खेलाडी भर्खरै चोटबाट रिकभर भएर मैदानमा उत्रिएका थिए । चोटबाट भर्खरै फर्किएकाले उनीहरुलाई अझै बढी ध्यान दिएर फिट राख्न फिजियो आविष्कारले मिहिनेत गरेका थिए।

खेलाडीहरुमा अलग अलग शारीरिक समस्या थिए। कसैको टाउकोमा चोट थियो, कसैको हातखुट्टा चोटग्रस्त थिए। ती समस्यालाई फिजियोले सावधानी अपनाएर राम्ररी हेरचाह गर्नुपर्ने चुनौती थियाे। उनी खेलाडीलाई मैदानमा समस्या नहोस् भन खेल अघि, खेल पछि र खेलको समयमा पनि उत्तिकै सावधान थिए।

‘मैले एक्लै यति धेरै गर्न सक्ने थिइनँ होला। एन्फा र पूरै टिमले ध्यान दिएकाले सजिलो भयो,’ उनले भने, ‘खेलका क्रममा कुनै खेलाडीले गम्भीर समस्या झेल्नु परेन। सामान्य समस्या पनि उपाधि उचालेपछि खेलाडीले भुल्न सके।’

पहिलो दुई खेल गोल नगरेको नेपालले फाइनल जित्न गोल गर्नैपर्ने दबाब थियो। घरेलु मैदानमा जति अवसर हुन्छ, खेलाडीका लागि उत्तिकै दबाब पनि । घरेलु दर्शकले उत्साह थपे पनि खेलाडीमा जित्नै पर्ने दबाब हुँदा फिजियोको भूमिका त्यहाँ चाहिएको थियो। ‘साना साना कुरामा ध्यान दिएर हामीले उपाधि जित्न सक्यौँ, हाम्रो भाग्य कुनै खेलाडीलाई गम्भीर चोट लागेन’, उनले भने, ‘खेलाडी स्वस्थ रहनु अपरिहार्य आवश्यकता हो। जबसम्म मैदानमा रहन्छन् तबसम्म उनीहरुले स्वास्थ्यको धेरै ख्याल गर्नुपर्छ।’

फिजियो आविष्कारकै बुझाइमा थ्री नेसन्स कपको फाइनल भिडन्त नेपालका लागि ऐतिहासिक भयो। ‘यो खेल नेपाली फुटबल इतिहासमा महत्वपूर्ण खेल थियो। नेपालले ३७ वर्षपछि अन्तराष्ट्रिय उपाधि घरेलु मैदानमा जित्यो’, उनले भने, ‘यो सफलताले पर्दा पछाडि खटिने हामी जति उत्साहित छौं, त्यो भन्दा धेरै खेलाडी र नेपाली फुटबल प्रेमी खुसी भएका छन्।’

  • प्रकाशित मिति : चैत २०, २०७७ शुक्रबार १३:४०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया