एसएलसीका ‘किर्ते डाक्टर’ : नेपालबाट आइए पास, बंगलादेशबाट एमबिबिएस
मेडिकल काउन्सिलको भूमिकामाथि प्रश्न

एसएलसीको सर्टिफिकेट किर्ते गरेका ७ जना डाक्टर अहिले प्रहरी हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विभिन्न ठाउँबाट शैक्षिक प्रमाण पत्र किर्ते गर्ने ती डाक्टरलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा.दीपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवास प्रसाद साह र काठमाडौंको चाबहिलस्थित दीर्घायु गुरु अस्पतलामा कार्यरत मोहम्मद साहिद राजा रहेको सीआईबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। 

यस्तै सप्तरी घर भएका अखिलेशकुमार देव, महोत्तरी घर भएकी पल्लवी सिंहलाई भक्तपुरबाट पक्राउ गरिएको छ। ललितपुरको सानेपा घर भएका फराज हुसेन खाँलाई ललितपुरबाटै पक्राउ गरिएको सिआइबी प्रमुख डिआइजी सहकुल थापाले बताए।

डाक्टरहरुको गल्ती 

प्रहरीलाई करिब डेढ महिना अगाडि सूचना आयो–केही डाक्टरले नक्कली मार्कसिट बनाएर जागिर खाइरहेका छन्। प्रहरीले त्यो सूचनालाई पछ्याउँदै गयो । सूचना पछ्याउँदै जाँदा पहिला ती डाक्टरहरुको एसएलसीको मार्कसिट लियो । 

त्यसपछि सर्टिफिकेटको वास्तविकता बुझ्न प्रहरीले मार्कसिट जाँच्न पठायो । जाँचमा अल्टर पाएपछि प्रहरीले ती सबै डाक्टरलाई नियन्त्रणमा लियो । मार्कसिट चेक गराउँदा प्रहरीले धेरै कुरामा फरक पाएको थियो ।



अर्थात् प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले एसएलसी मार्कसिटमा आवश्यक न्यूनतम योग्यता नपुग्दा त्यसमा नाम, जन्म मिति, प्राप्ताङ्क लगायत विवरण थपघट गरी किर्ते गरेका थिए। एसएलसीको मार्कसिटमा नम्बर बढाएका उनीहरुले बंगलादेशबाट एमबिबिएस गरेका थिए । 

दीर्घायु गुरु अस्पतालको आकस्मिक कक्षमा कार्यरत राजाले एसएलसीमा ६८.६३ प्रतिशत र प्लस टुमा ७० प्रतिशत नम्बर ल्याएका थिए। तर उनले  छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न एसएलसीको सर्टिफिकेटको नम्बर किर्ते गरेर बढाएका थिए।



बंगलादेशको बंगाल मेडिकल कलेजमा एमबिबिएस गरेका मोहम्मद सिद्धिकले पनि एसएलसी र प्लस टुको नम्बर बढाएको खुलेको छ। उनी पनि छात्रवृत्तिमा एमबिबिएस पढ्न बंगलादेश गएका थिए । उनले एसएलसीमा ६८.५ र प्लस टुमा ६० प्रतिशत नम्बर ल्याएका थिए। तर नम्बर बढाएर बंगलादेश पुगेका उनी डेढ वर्षदेखि न्युरो अस्पताल विराटनगरमा कार्यरत थिए ।

नेपालबाटै ‘प्लस टु’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सातजना डाक्टरले नेपालबाटै प्रवीणता प्रमाण पत्र तहको पढाई पूरा गरेको बयानबाट खुलेको छ । एसएलसीको मार्कसिटमा किर्ते गरेका उनीहरुले त्यसलाई अझ आधिकारिकता दिन प्रवीणता प्रमाण पत्र (आइए) नेपालमै पास गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । 

तर ती डाक्टरले फरकफरक कलेजबाट पढाई पूरा गरेका छन् ।  प्रहरी स्रोतका अनुसार मोहम्मद सिद्दीकी अरकिड साइन्स कलेज काठमाडौं, सुभाष साह क्यासपियन भ्याली कलेज ललितपुर, मोहम्मद साहिद मोडल कलेज जनकपुर, दीपेन्द्र गौतम अरकिड साइन्स कलेज चितवन, अखिलेश देव छिन्नमस्ता एकेडेमी सप्तरी, पल्लवी सिंह युनाइटेड एकेडेमी ललितपुर र फराज खाँले क्यासपियन कलेज ललितपुरबाट प्रवीणता प्रमाण पत्र तहको पढाइ गरेको बयान दिएका छन् । 

नेपालबाट आइए गरेपछि कन्सल्टेन्सी संचालक अरुण चौधरीको सहयोगमा उनीहरु बंगलादेश पुगेका थिए। प्रहरीलाई डाक्टरहरु भनेका छन्–बंगलादेश जान आवश्यक सबै कुरा कन्सल्टेन्सीले गरिसकेपछि हामी त्यहाँ पुगेका हौं । एसएलसीमा नम्बर कम आए पनि परिवारको दबाबले मेडिकल पढन बंगलादेश जानुपरेको उनीहरुले बयान दिएका छन् । 

प्रहरी स्रोतका अनुसार कन्सल्टेन्सी संचालक चौधरीले भने आफूले केही नगरेको बयान दिएका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनेका छन, ‘मैले त बंगलादेशबाट विद्यार्थी पठाए बापत कमिशन पाउँछु, त्यसैले म किन गल्ती गर्छु ? मैले केही गल्ती गर्या छैन ।’ 

यसरी डाक्टर र कन्सल्टेन्सी संचालकको बयानमा फरक आएपछि यो विषय झन् शंकास्पद बनेको प्रहरीले जनाएको छ । हिजो डाक्टरहरुलाई फरकफरक ठाउँबाट पक्राउ गरिएकाले गहिरो अनुसन्धान हुन नसकेको जनाउँदै सिआइबी प्रवक्ता पन्तले भनिन्, ‘यसको ‘कनेक्सन’ बारे गहिरो अनुसन्धान सुरु गरिएको छ, चाँडै धेरै कुरा खुल्नेछ ।’

किर्ते सर्टिफिकेटमा नेपाल मेडिकल काउन्सिल बाँसबारीको पनि सहयोग रहेको खुलेको छ । अध्ययन स्वीकृति नेपाल मेडिकल काउन्सिलबाट लिएकाले यो विषय झन् पेचिलो बनेको छ । 

  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार १६:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया