कांग्रेस महाधिवेशनको अन्तिम समयमा आफ्नैबाट धोका पाउने नेताहरू

राजनीतिमा एउटा चर्चित भनाइ छ– राजनीतिमा कोही आफ्नो हुँदैन, कोही पराए हुँदैन । अर्थात् समय, परिस्थिति र एजेन्डाले कहिले कसैलाई नजिक बनाउँछ भने कहिले टाढा । शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पछि यस्तै देखिए । वर्षौंदेखि नजिक रहेका नेता टाढिए भने टाढा रहेका नजिकिए । 

कुरा गरौं कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबाट । उनले यस पटकको महाधिवेशनमा थुप्रै नेताको चित्त दुखाएका छन् । चित्त दुखाएको अरू गुटका नेताको होइन, आफ्नै गुटभित्रका नेताको जसले वर्षौंदेखि उनलाई सहयोग गर्दै आएका थिए । 

यसपालि देउवाले सबैभन्दा बढी पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माको चित्त दुखाए । देउवाको विश्वास पात्र भएकै कारण उनले प्रवक्ताको पद पाएका थिए   क्षमता भएका र सभापतिसँग पनि निकट भएका कारण यस पटकको महाधिवेशनमा संस्थापन पक्षबाट उनी महामन्त्रीको उम्मेदवार हुने धेरैले विश्वास गरेका थिए । 

यही विश्वासका कारण शर्माले महाधिवेशन सुरु हुनुभन्दा करिब दुई महिना अघिदेखि आफू महामन्त्रीमा उठ्ने घोषणा गर्दै आएका थिए । तर, उनले सोचेको जस्तो भएन । अन्तिम समयमा शर्मालाई देउवाले धोका दिए । संस्थापन पक्षको प्यानलमा देउवाले महामन्त्री पदमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई स्थान दिए । 

पौडेल कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग नजिक थिए । अझ भनौं उनी कांग्रेसभित्र सिटौला गुटका भनेर चिनिन्थे । सभापतिमा उम्मेदवारी दिएका देउवाले अन्तिम समयमा आफ्नो जित्ने आधार मजबुद बनाउने क्रममा सिटौला गुटसँग मिल्न पुगे । र, महामन्त्री पदमा आफ्नो गुटका आकांक्षी शर्मालाई हटाएर सिटौला पक्षका पौडेललाई राखे । 

समयले यस्तो परिस्थिति बनाइदियो सधैं आफ्नो आलोचना गर्नेलाई देउवाले च्याप्न पुगे भने सधैं आफ्नो पक्षमा बोल्दै आएका शर्मालाई जर्बजस्ती ठेलेर अर्को गुटमा पुर्याइदिए । उनले शर्मालाई यस्तो अप्ठेरो अवस्थामा पुर्याइदिए कि उनलाई अन्य गुटले पनि नलिने जस्तो माहोल बन्यो । सुरुमा त प्रकाशमान सिंह र शेखर कोइराला दुवै गुटले उनलाई लिन हिचकिचाएका थिए । पछि उनले प्रकाशमान सिंहको गुटबाट महामन्त्री पदमा उम्मेदवारी दिए । 



कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले पनि केही दिनअघि महामन्त्रीमा उम्मेदवारी दिने बताएका थिए । तर, उनको सो इच्छा पनि पूरा हुन सकेन । आफ्नै पक्षका खाँणलाई देउवाले केन्द्रीय सदस्यमा लगेर राखे । देउवाको यो निर्णयले खाँण पनि उनीसँग सन्तुष्ट छैनन् । तर, उनले शर्माले झैं गुट परिवर्तन गरी उम्मेदवारी भने दिएनन् । 

कांग्रेसका अर्का नेता एनपी सावद पनि अहिले देउवासँग असन्तुष्ट छैनन् । लामो समयदेखि देउवा गुटका नेता भनेर चिनिएका उनले महामन्त्रीमा इच्छा देखाएका थिए । सावदलाई पनि देउवाले पाखा लगाएर महत र पौडेललाई साथ दिए । देउवाले साथ नदिएपछि अहिले सावद प्रकाशमान सिंंह गुटनिकट भएका छन् । 



देउवा गुटका कांग्रेस नेता मीनबहादुर विश्वकर्माले सह–महामान्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, उनको इच्छा पनि देउवाका कारण पूरा हुन पाएन । उनले मानबहादुर विश्वकर्मालाई सह–महामन्त्रीको उम्मेदवार बनाए । त्यसपछि मीनले शनिबार केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । यद्यपि उनले केन्द्रीय सदस्यबाट नाम फिर्ता लिइसकेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि यसपटकको महाधिवेशनमा आफ्नै पक्षका नेताबाट असन्तुष्ट बने । सभापतिको उम्मेदवारी दिने तयारी गरिरहेका उनलाई आफ्नै गुटका नेताहरूले साथ नदिएपछि उनी अन्तिम समयमा पछि हटे । पौडेलले विज्ञप्ति निकालेरै महाधिवेशन प्रक्रियाबाट बाहिरिएको घोषणा गरे । 

शेखर र प्रकाशमानबीच सहमति नबन्दा पौडेल सभापतिको दौडबाट बाहिरिएका हुन् । शेखरले प्रकाशमानले छोडे आफू पौडेलको नाममा सहमति गर्न तयार रहेको बताए पनि प्रकाशमान भने सहमति गर्न तयार भएनन् । अर्थात् पौडेललाई संस्थापनइतरको सभापतिको साझा उम्मेदवार बनाउने विषयमा उनीहरूबीच सहमति बन्न सकेन ।

फलस्वरूप पौडेलले महाधिवेशन प्रक्रियाबाट बाहिरिएको घोषणा गरे भने शेखर र प्रकाशमानले छुट्टाछुट्टै गुट प्यानल बनाएर उम्मेदवारी घोषणा गरे । स्रोतका अनुसार शेखरलाई साइजमा राख्न पौडेलकै सुझावमा सुरुमा प्रकाशमानले सभापति पदमा दाबी गरेका थिए । पछि प्रकाशमानले नै पौडेलको नाममा सहमति गर्न मानेनन् । 

‘१४ औं महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु । प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्ने पर्ने अवस्थामा म पुगेँ । तथापि एउटा इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडि नै रहनेछ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यो महाधिवेशनमा कोइराला परिवारमा समेत फुट देखियो । शेखर कोइराला र शशांक कोइराला एकातिर भए भने सुजाता कोइराला अर्कोतिर । शेखर केशव कोइरालाको छोरा हुन् भने शशांक बीपी कोइरालाका । यस्तै, सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । केशव, बीपी र गिरिजा नातामा दाजुभाई हुन् । 

यसपटकको महाधिवेशनमा शेखर र शशांक एउटै गुटमा रहेका छन् । सुजाता भने प्रकाशमान सिंहको गुटमा गएर उपसभापतिको उम्मेदवार बनेकी छन् । कोइरालाको गुटको तर्फबाट शेखरले सभापतिमा उम्मेदवारी दिएका छन् । 

केही महिना अघिदेखि नै सुजाता शेखर, शशांक र रामचन्द्र पौडेलप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै आएकी थिइन् । विभिन्न समयमा दिएका अन्तर्वार्तामा सुजाताले शेखर, शशांक र पौडेलमा कांग्रेसको सभापति हुने औकात नै नभएको टिप्पणी गरेकी थिइन् । 

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १६:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया