देशभित्र लगानी गर्छु भन्नेलाई दिन बैंकसँग पैसा छैन, विलासिताका वस्तु आयातमा ठूलो रकम बाहिरिँदै

देशभित्र तरलता अभाव भइरहेका बेला नेपालले विभिन्न देशबाट गर्ने आयातमा भने ५९.५५ प्रतिशतले वृद्धि भएको पाइएको छ । बैंकसँग पैसा नहुँदा अहिले देशभित्र ठूलो लगानी हुन सकिरहेको छैन । ऋण लिन चाहनेलाई बैंकले उपलब्ध गराउन सकिरहेको छैन । जसले देशमा ठूलो आर्थिक संकट आउने अनुमान भइरहेको छ । 

तर, यस्तो बेलामा विलासिताका सामग्री आयातमा भने ठूलो रकम देशबाट बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो पाँच महिना (साउन, भदौ, असोज, कात्तिक र मंसिर) मा नेपालले कुल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा नेपालले विभिन्न देशबाट ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षमा नेपालको आयात ५९.५५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

आयातको तुलनामा नेपालको निर्यात व्यापारको आकार भने निकै सानो रहेको छ । चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो पाँच महिनामा नेपालले मात्र १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशमा पठाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा नेपालले ५० अर्ब ५ करोड ५६ लाख ८ हजार रुपैयाँको वस्तुहरु निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको निर्यात व्यापार १०६.६१ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । 

चालू आर्थिक वर्षको सुरुवाती पाँच महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख ३४ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको व्यापार घाटा ५४.७० प्रतिशतले वृद्धि भएको छ ।
 
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख १४ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो रकम ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख ५१ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको अन्तर्राष्ट्रिय व्यापार ६३.५५ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ । 



पछिल्लो पाँच महिनामा नेपालबाट सबैभन्दा ठूलो रकम डिजेल आयातमा बाहिरिएको छ । सो अवधिमा नेपालले ४९ अर्ब २ करोड ८७ लाख १७ हजार रुपैयाँको डिजेल आयात गरेको छ । 

डिजेलपछि ठूलो रकम कच्चा भटमास र पाम तेल खरिदमा देशबाट बाहिरिएको छ । साउनदेखि मंसिरसम्मको अवधिमा नेपालले विभिन्न देशबाट ३३ अर्ब ६६ करोड ५४ लाख ५९ हजार रुपैयाँको कच्चा भटमास तेल र २४ अर्ब ६१ करोड ७५ लाख ८७ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ ।
 
पछिल्लो पाँच महिनामा नेपालले २४ अर्ब १० करोड ७ लाख ४८ हजार रुपैयाँको पेट्रोल आयात गरेको छ । सोही समयमा २३ अर्ब ११ करोड ६४ लाख १६ हजार रुपैयाँको एलपिजी ग्यास नेपालले आयात गरेको विभागको तथ्यांकले देखाउँछ । 



चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा २२ अर्ब ९७ करोड २४ लाख ६९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको छ । सोही समयमा नेपालले १८ अर्ब ८६ करोड ६० लाख १ हजार रुपैयाँको सुन आयात गरेको छ । 

नेपालमा पछिल्लो पाँच महिनामा विभिन्न देशबाट १२ अर्ब ५१ करोड ८३ लाख ६६ हजार रुपैयाँको चाँदी भित्रिएको छ ।

  • प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार १७:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया