सौतेली दाजुभाइबाट पीडित, सबैले न्याय पाउन् भनेर आमरण अनसनमा
फरकधार / २० पुस, २०७८

चितवनका ५८ वर्षीय अम्बिकाप्रसाद अधिकारीले सोचेको जस्तो हुने थियो भने यति बेला उनी आफ्नै घर छेउको ‘बारी’मा काम गरिरहेका हुन्थे । तर, उनले सोचेको जस्तो भएन । जे सोचेका थिएनन्, त्यसको परिणाम अहिले भोगिरहेका छन् ।



सेताम्मे दारी । कपाल पनि सेतै । शरीरमा एक सरो पातलो कपडा लगाएर काठमाडौंको १० डिग्री सेल्सियसभन्दा कम तापक्रममा अनसन बसिरहेका छन्, अधिकारी । सौतेली दाजुभाइबाट जग्गा हडपिएपछि लामो समयदेखि न्यायालयको ढोका ढकढकाउँदा पनि न्याय पाएनन्, अधिकारीले । अनि उनले रोजेको बाटो हो, आमरण अनसन; आफूजस्तै अरुलाई पनि न्याय मिलोस् भन्ने चाहन्छन् उनी ।

आफू र आफूजस्तै पीडित अरुका लागि पनि न्याय मिलोस् भनेर आमरण अनसन बसेका अधिकारीलाई न्याय पाइन्छ भन्नेमा विश्वास छ । तर, यसमा पनि कम तनाव र सास्ती भोगेका छैनन् उनले । कतिसम्म भने अनसन बसेको सुरुकै दिनमा उनलाई प्रहरीले राति अबेर उठाएर लग्यो, कपडा फालिदियो र एउटा आश्रममा लगेर छोडिदियो ।

‘आइतबार साँझको कुरा हो,’ अधिकारीले भने, ‘राति प्रहरी आएर यहाँ बस्न पाइँदैन भन्यो, मेरो कपडा फालिदियो र भन्यो– जहाँ जान्छस्, जा, यहाँ बस्न पाइँदैन ।’



प्रहरी र अधिकारीको आधा घन्टाभन्दा बढी विवाद भयो । प्रहरीले उनलाई उठाएर गाडीमा हालेर लगियो, सिंहदरबारमा रहेको महानगरीय वृत्तमा । त्यहाँ उनलाई राख्न पाइने आधार थिएन, प्रहरीले उनलाई रातारात त्यहाँबाट मानव सेवा आश्रम रानीबनमा लगेर छाडिदियो । न्याय चाहियो भनेर अनसन बसेका अधिकारी त्यहाँबाट भागेर सोमबार विहान फेरि आइपुगे माइतीघर मण्डला । सोमबार दिउँसो उनी सर्वोच्च अदालत पनि पुगे, दिनभर सर्वोच्चमा बसे, आफ्नो मुद्दाबारे अपडेट लिए । सर्वोच्चले अब अधिकारीलाई बोलाएको छ, जेठमा ।

माइतीघरमा बस्न प्रहरीले नदिएपछि अधिकारी त्यो रात भद्रकालीमा गए । त्यहाँ पनि उनले उसैगरि अनसन बसे, जसरी माइतीघरमा बसिरहेका थिए ।

तेस्रो दिन मंगलबार विहान फेरि उनी फर्किएका छन्, माइतीघर मण्डलामा ।

‘अदालतमा तारेखका तारेख धाएँ, चार वर्ष बितिसक्यो,’ मंगलबार विहान फरकधारसँग माइतीघरमा कुरा गरे अधिकारीले, ‘यतिका वर्ष पनि न्याय नपाउने यो कस्तो राज्य हो ?’

आफैं कानुनका विद्यार्थी हुन्, अधिकारी । काठमाडौंमा कुनै समय कानुन पढ्न आएका थिए, अधिकारी । उनी काठमाडौंमा कानुन पढ्न आएकै समयमा गाउँमा उनका दाजुभाइले सबै श्रीसम्पत्ति आफ्नो नाममा गरे, त्यसको अहिले आफैंले भोगचलान गरिरहेका छन् ।

‘मेरो भागमा ८ कठ्ठा जग्गा त परेको थियो, त्यो पनि आमाको दाइजोका रुपमा आएको,’ अधिकारीले भने, ‘तर, न्याय पाउन अदालत धाउँदा धाउँदा त्यो पनि सकियो, चार छोराछोरीको भविष्य पनि बिग्रियो ।’

कुनै समय चितवनमा जग्गा भएका अधिकारी सबै सकिएपछि अहिले गैंडाकोटमा भाडामा बस्दै आएका छन्, न्यायका लागि राज्यका अंगहरुसँग हारगुहार गरिरहेका छन् ।

यहीबीच मंगलबार विहान कुराकानी गर्दा उनी विगतमा पुगे । छविरमण अधिकारीका तीन श्रीमतीका पाँच भाइ छोरामध्ये एक हुन्, अम्बिकाप्रसाद अधिकारी । त्यति बेला अम्बिकाका बाबुले जोडेका थिए, ८६ कठ्ठा जग्गा । अम्बिकाको आरोप छ– उनका कान्छा भाइ दिनेशप्रसाद अधिकारीले यो सबै जग्गा आफ्नो नाममा गरे र दाजुहरुलाई बिल्लिब्याँठ बनाइदिए । त्यस्तै गरे, उनका माइला दाजु चन्द्रप्रसाद अधिकारीले पनि । उनले पनि बाबुले जोडेकोमध्ये ४३ कठ्ठा जग्गा आफ्नो नाममा बनाए । 

अम्बिकाको आरोप छ– यी दुई दाजुभाइले बाबुको सम्पत्ति सबै खाइदिए । ‘अनि मेरा अरु दुई भाइ सरकारी जागिरे र ठेक्कापट्टामा छन्,’ उनले भने, ‘यसको खासै मतलब गरेनन् ।’

सरकारी जागिरे र ठेकेदार दुई भाइले खासै वास्ता नगरे पनि बाबुको सम्पत्ति आफूले पाउनु पर्ने मागसहित आजभन्दा सात वर्षअघि अम्बिका पुगे, चितवन जिल्ला अदालतमा ।

त्यसपछि सुरु भएको उनको अदालती यात्रा अहिले पनि जारी छ । उच्च अदालत हुँदै उनी सर्वोच्च अदालत आइपुगेका छन्, न्यायको आश गरेका छन् । 

कानुनका विद्यार्थी भएकाले अम्बिकाले चितवन जिल्ला अदालत र उच्च अदालतमा आफ्नो मुद्दाको आफैं बहस गरेका थिए । 

‘ती मुद्दा लड्दा आफूसँग भएको सम्पत्ति पनि सकाएँ, अब मैले न्याय माग्ने ठाउँ सर्वोच्च अदालत हो, यो राज्य हो,’ अम्बिका भन्छन्, ‘सात वर्षदेखि अदालतमा धाइरहँदा पनि मैले न्याय पाएको छैन । चार वर्षदेखि सर्वोच्च अदालतमा तारेख धाइरहेको छु, न्याय पाउँछु भन्ने आश गरिरहेको छु ।’

उनका बाबुलाई प्रभावमा पारेका थिए, उनका दाजुभाइले । नवलपरासीमा भएको जग्गा उनका बाबु र भाइ दिनेशले साबुन उद्योग खोल्न २०५२ सालमा नै ऋण लिएका रहेछन् । तर, उनीहरुले उद्योग चलाउन सकेनन् । जग्गा लिलामीमा पर्यो । १४ वर्षपछि अम्बिकाका बाबुले केही जग्गा बेचे र ऋण तिरिदिए ।

काठमाडौंमा पढ्दै थिए, अम्बिका त्यति बेला । ‘काठमाडौंबाट पढाइ सकेर फर्किएपछि मलाई थाहा भयो, सबै डामाडोल भइसकेको रहेछ,’ उनले भने, ‘त्यसपछि आफ्नो हकका लागि म लडिरहेको छु, यही लड्दालड्दै मेरा सबैकुरा बेहाल भइसकेका छन् ।’

अम्बिकाले आफ्नै दाजुभाइविरुद्ध पाँच विभिन्न मुद्दा हालेका छन्, केही जिल्ला अदालतमा नै छन् भने केही सर्वोच्चमा पुगेका छन् ।

तर, न्यायालयबाट पनि न्यायमा विलम्ब भएको गुनासो छ, उनको । त्यसैले उनले सुरु गरेका छन्, आमरण अनसन । 

‘आफ्नै दाजुभाइले साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर मेरो हक कुल्चिएका छन्, सम्पत्ति हडपेका छन्,’ उनले भने, ‘अब आफ्नो न्याय फिर्ता पाउन मैले आमरण अनसनको विकल्प देखिनँ, राज्यसँग मेरो माग यही हो ।’

अम्बिकालाई थाहा छ, यस्तो अवस्थामा उनी मात्र परेका होइनन् । नेपालमा यस्तै अवस्थाबाट गुज्रिएका अरु पनि छन् । त्यसैले उनले यस्तो ‘अन्याय’मा परेका सबैका लागि राज्यले सोच्नु पर्ने आवाज उठाउन थालेका छन् ।

‘कोही पनि पीडितले अन्याय पाउनु हुँदैन,’ उनले भने, ‘न्यायकै लागि कसैले दुःख नपाओस्, कोहीले न्यायकै खातिर ज्यान गुमाउन नपरोस् ।’

 

  • प्रकाशित मिति : पुस २०, २०७८ मंगलबार १६:२०:४७,   अन्तिम अपडेट : पुस २०, २०७८ मंगलबार १६:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया