बिहीबार हुने भनिएको कांग्रेस धनुषाको निर्वाचन स्थगित

आज बिहीबार हुने भनिएको नेपाली कांग्रेस धनुषाको निर्वाचन स्थगित गरिएको छ । 

कांग्रेस धनुषाको १४औं जिल्ला अधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन (मतदान प्रक्रिया) को बिहीबार बिहान ८ बजेदेखि गर्ने सुचना प्रकाशन गरिएकोमा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए । 

दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गर्ने निर्णय गरेसँगै संस्थापन पक्षका उम्मेदवार पराजित हुने भएपछि सो पक्षका नेता आनन्दप्रसाद ढुंगाना र महेन्द्र यादवले निर्वाचन अधिकृत ज्ञवालीलाई जनकपुरधाम छाड्न धम्की दिएको कुरासमेत बाहिरिएको छ ।

बुधबार साँझ जनकपुरधामस्थित निधिको निवासमा पत्रकार सम्मेलन आयोजना गरी शेखर समूहका नेता रामकृष्ण यादवले आफूहरुले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गर्ने निर्णय गरेको बताएका थिए । 

सभापतिका लागि मंगलबार अबेर राति भएको मतगणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोस्रो चरणमा बिहीबार बिहान पुनः निर्वाचनको समय निर्धारण गरिएको थियो ।   

सोमबार भएको निर्वाचनमा कुल ३ हजार १७३ मतदाता रहेकोमा २ हजार ९१२ जनाले मत खसालेका थिए । उक्त मतमध्ये पजियार अग्रस्थानमा रहँदै १ हजार २४८ मत ल्याएका थिए भने सभापतिका अर्का प्रतिद्वन्द्वी संतोष यादवले ८८२ र प्रसैलाले ६३० मत मात्र प्राप्त गरेका थिए । 



धनुषाको चारवटै क्षेत्रको सार्वजनिक भएको पहिलो चरणको मत परिणामले कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेकोमा चुनाव दोस्रो चरणमा गएको हो ।



 

  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १४:५१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया