जिसस सुर्खेतको निर्वाचन शुक्रबार, कसले मार्ला बाजी ?

जिल्ला समन्वय समिति (जिसस) सुर्खेतको नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ । निर्वाचन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुन लागेको हो । निर्वाचनका लागि २४ गते मनोनयन दर्ता भइसकेको छ । ९ वटा स्थानीय तह रहेको सुर्खेत जिल्लामा समन्वय नेतृत्वका लागि कांग्रेस एक्लो र एमाले–माओवादीले गठबन्धन गरेको छ । 

प्रमुख उप–प्रमुखसहित ९ पदमध्ये कांग्रेसले पाँच जनाको मात्रै मनोनयन दर्ता गरेको कांग्रेस जिल्ला सचिव देवकुमार सुवेदीले जानकारी दिए । उनका अनुसार प्रमुखमा दिलिपकुमार वाग्ले, सदस्यहरूमा उजिरसिंह कामी, रत्नादेवी ढुंगाना, लीलाजंग शाह र गौरी दमाईले उम्मेदवारी दिएका छन् । 

‘स्थानीय तह निर्वाचन २०७९ मा प्रदेशमा भएको गठबन्धनका आधारमा सुर्खेत जिससको निर्वाचन गर्ने हाम्रो पार्टीको धारणा हो । तर, नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता समेत गरेको छ । हामीले उप–प्रमुखसहित अन्य सदस्य पदका लागि माओवादीलाई भनेर छोडेका छौ’, कांग्रेस सुर्खेतका सचिव सुवेदीले भने ।

तर, नेकपा माओवादी केन्द्रका सुर्खेत इन्चार्ज सुदिप मल्ल भने माओवादीले  एमालेसँग जिसस निर्वाचनको लागि तालमेल गरेको भन्दै विपक्षमा उत्रिएका छन् । प्रदेश स्तरका नेताहरूले कर्णालीका अन्य जिल्लामा जेजस्तो भए पनि सुर्खेतमा एमालेसँग तालमेल गर्ने भनेर उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । 

यस्तै एमाले–माओवादीका तर्फबाट एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओदीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यहरूमा एमालेका डिल्लीप्रसाद पाण्डे, पृथ्वीबहादुर बुढाक्षेत्री, चन्द्राकुमारी धामी, मिना मल्ल, सावित्रा टमटाले उम्मेदवारी दिएका हुन् । यस्तै माओवादीबाट शान्ति ताराम र तुलबहादुर नेपालीले सदस्यमा उम्मेदवारी दिएका हुन् ।

कसको कति छ भोट ? 



जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै भोट हाल्न पाउने कानुनी व्यवस्था रहेको छ । जसमा सुर्खेतका ९ वटा स्थानीय तहमध्ये प्रमुख तथा उपप्रमुखमा माओवादीले एक, नेकपा एमालेले ९ र नेपाली कांग्रेसले ८ वटा स्थानमा जितेको थियो । 

जसमा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुख र उपप्रमुख, भेरीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख, चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र लेकवेशी नगरपालिकाको  उपप्रमुखमा जितेको छ । 



नेपाली कांग्रेसको तर्फबाट पञ्चपुरी नगरपालिकाको प्रमुख र उपप्रमुख, बराहताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, गुर्भाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख तथा लेकवेशी नगरपालिकाका प्रमुख र चौकुने गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । स्थानीय तह निर्वाचनमा नेकपा माओवादीले चौकुने गाउँपालिकाको अध्यक्ष पद मात्रै जित हात पारेको थियो ।

यसरी हेर्दा सुर्खेतमा एमालेका ९, कांग्रेसका ८ र माओवादीको एक भोट मात्रै हो । सुर्खेत जिल्लाको समन्वयको नेतृत्वको निर्णायक नेकपा माओवादीकै हो  । एक भोट मात्रै भएपछि चौकुने गाउँपालिकाले नेपाली कांग्रेससँग तालमेल गर्दा पनि एमालेसँग बराबर भोट हुने भएकोले नै एमालेसँगै तालमेल गरेको नेकपा माओवादी प्रदेश उपाध्यक्ष कृष्ण जिसीले बताए । 

  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १२:३२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया